हल्ला हल्लामै बजार अनियन्त्रित
काठमाडौँ। हल्लाका भरमा अत्यधिक संख्यामा सञ्चित गर्दा बजारमा ग्यास अभाव देखिएको छ। पेट्रोल लिन पनि उपभोक्ता लामो लाइन लाग्न थालेका छन्। नेपाल आयल निगम र व्यवसायीले हल्लाअनुसार पूर्वतयारी नगर्दा पम्पहरूमा लाइन लाग्नुपर्ने अवस्था आएको हो।
उपत्यकाका पम्पहरूमा सोमबार साँझदेखि पेट्रोल लिन लाइन लागेको थियो। उपभोक्ताको भीड मंगलबार साँझसम्म यथावतै देखियो। यसमा मुख्य तीन कारण देखिएको नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिनेन्द्र प्रधान बताउँछन्।
भारतले कोरोना भाइरसको संक्रमण फैलिन नदिन गत आइतबारदेखि प्रमुख चारबाहेक अन्य नाका बन्द गरेको छ। भारतले नाकाबन्दी लगाएको भनेर गलत हल्ला चलाएका भरमा उपत्यकावासी सकेसम्म बढी परिमाणमा पेट्रोलको जोहो गर्न पम्पमा ओइरिए। यस्तो अवस्थामा निगमले शनिबार पनि थानकोट डिपो सञ्चालनमा ल्याई पम्पलाई पेट्रोल उपलब्ध गराउनुपथ्र्यो। निगमले शनिबार डिपो बन्द राख्यो।
थानकोट डिपोले शुक्रबार पेट्रोल ९ लाख ३३ हजार र डिजेल १२ लाख ७ हजार लिटर वितरण गरेको थियो। उसले आइतबार दिउँसो २ बजेदेखि पेट्रोल ८ लाख २८ हजार र डिजेल ९ लाख ८३ हजार लिटर उपत्यकाको बजारमा पठाएको थियो। निगमले आफ्नो योजनाअनुरूप आइतबार बिहान ७ बजेदेखि इन्धन उपलब्ध पनि गराएन।
मागको तुलनामा निगमले अपर्याप्त परिमाणमा इन्धन बजारमा पठाउनु र शनिबार नदिनुले बजारलाई झनै अनियन्त्रित बनाएको अध्यक्ष प्रधान बताउँछन्। यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ।
बजार हल्ला अनियन्त्रित