विदेश

मलेसियाका नयाँ प्रधानमन्त्री मोहिउद्दीन यासिनद्वारा शपथ

मलेसियाका नयाँ प्रधानमन्त्री मोहिउद्दीन यासिनद्वारा शपथ

क्वालालम्पुरः मलेसियामा पूर्व गृहमन्त्री मोहिइद्दीन यासिनले आइतबार प्रधानमन्त्री पदको शपथ लिएका छन् । ९४ वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदको सुधारवादी सरकारको पतन भएसँगै चौतर्फी भ्रष्टाचार र घोटालामा नाम जोडिएको शक्तिको पुनः उदय भएको छ । पूर्व प्रधानमन्त्री महाथिरले वर्तमान सरकारको गठन अवैधानिक रहेको दाबी गरेका छन् ।

सन् २०१८ मा ऐतिहासिक विजयका साथ उदय भएको महाथिरको सुधारवादी ‘प्याक्ट अफ होप’ नामको गठबन्धनभित्र मौलाएको आन्तरिक कलहकै कारण सरकार पतन भएको थियो ।  सत्ता कलहलाई थामथुम पार्नुको साटो प्रधानमन्त्रीको पदबाटै राजीनामा दिनुभएका महाथिरले सर्वपक्षीय सरकार गठन गर्ने प्रयास गरेका थिए । तर महाथिरको त्यो प्रयास विफल भयो । 

मलेसियाको राजनीतिमा कमै चिनिएका यासिनले नयाँ गठबन्धनको नेतृत्व गरी सरकार गठन गरेका छन् । शनिबार राजाले मोहिउद्दीनलाई प्रधानमन्त्रीको रूपमा छनौट गर्ने निर्णय गरेलगत्तै महाथिर र उनको दलका नेताहरु स्तब्ध भएका थिए । महाथिर र उनका सहयोगीहरूले आफूहरुसँग पर्याप्त समर्थन रहेको दाबी गरिरहेका थिए । प्रजातान्त्रिक तवरले चुनिएको सरकारलाई जबर्जस्ती सत्ताच्यूत गरिएको भन्दै उनीहरुले विरोध जनाएका छन् । 

मोहिउद्दीनको सपथग्रहण समारोह हुनुअघि महाथिरले उनीमाथि विश्वासघात भएको आरोप लगाउँदै नयाँ प्रधानमन्त्रीले संसदबाट बहुमत ल्याएर देखाउन चुनौती दिए । महाथिरको उक्त मन्तव्यका कारण मुलुकको राजनीतिक सङ्कट जारी रहेको जानकारहरुको भनाई छ । 

महाथिरले भने, ‘यो एकदम अनौठो कुरा हो । हार्नेहरूले सरकार बनाएका छन्, विजेताहरू विपक्षीमा छन् । यो त कानुनी शासनको विपरीत हो ।’ मुहिउद्दीनको गठबन्धनमा भ्रष्टाचारको आरोप खेपिरहेका पूर्व प्रधानमन्त्री नजिब रजाकको नेतृत्वमा रहेको युनाइटेड मलेज नेसनल अर्गनाइजेसन (युएमएनओ) का साथै कडा मुस्लिम कानुनको वकालत गर्ने कट्टरपन्थी समूहहरु रहेका छन् । पूर्व प्रधानमन्त्री नजिब अहिले भ्रष्टाचारसम्बन्धी मुद्दा खेपिरहेका छन् ।

महाथिरले अन्तिम समयसम्म पनि आफूसँग बहुमत रहेको दाबी गर्नु भएको थियो, तर मुहिउद्दीनको शपथ कार्यक्रम आइतबार बिहानै गरिएको थियो । महाथिरको गठबन्धनले उक्त समारोह नै बहिस्कार गरेको थियो । 

मलेसिया शपथ मोहिइद्दीन यासिन

विशेष