सेनाद्वारा ५२ बेडको ‘आइसोलेसन वार्ड’ तयार, प्रहरीलाई बिदा बस्न रोक
काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै सेनाले ५२ बेडकोे आइसोलेसन वार्ड तयार गरेको छ । त्यसमा सैनिक र गैरसैनिकको उपचार गरिने छ ।पूर्वतयारीअन्तर्गत सेनाले मंगलबार र बुधबार जंगी अड्डा परिसरमा विभिन्न युनिटमा कार्यरत सकल दर्जालाई तालिम गराएको छ । स्वास्थ्य महानिर्देशनालयका ५० सैनिक चिकित्सक तथा विभिन्न युनिटमा कार्यरत एक सय ३१ प्राविधिक सैनिकलाई प्रशिक्षण दिइएको प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले बताए । ‘तालिम पाएका एक सय ८१ जनाले अब आठ पृतना र मातहतका बाहिनी र युनिटमा गएर तालिम दिनेछन्, यो प्रशिक्षक प्रशिक्षण तालिमजस्तै हो,’ प्रवक्ता पाण्डेले भने, ‘हाम्रो जनशक्तिलाई लक्षित गरेर सञ्चालन गरिएको यो आन्तरिक तयारीसम्बन्धी तालिम हो ।’
सेनामा ९६ हजार पाँच सय जनशक्ति छ । एउटा ब्यारेकमा आठ सयसम्म जनशक्ति छ । उनीहरूलाई लक्षित गरेर दु्रत गतिमा तालिम दिने र सरकारी निर्देशनका आधारमा नागरिकको स्वास्थ्योपचार र सुरक्षामा खटाउने सेनाको तयारी छ । तालिममा सेनाले कोरोना भाइरससम्बन्धी जानकारीमूलक कक्षा सञ्चालन गरेको थियो । क्वारेन्टाइन सेटअप र पानीको शुद्धीकरण, फोहोर व्यवस्थापन, बिजुली तथा पानीको धारा व्यवस्थापन, फिल्डका शौचालय व्यवस्थापन, भाइरस रोकथाम र नियन्त्रणका विषयमा सैनिक टोलीलाई सैद्धान्तिक र व्यावहारिक तालिम दिइएको पाण्डेले जानकारी दिए ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डअनुसार नौवटा श्रेणीमा विभाजन गरेर हरेक टेन्टमा दुईजना व्यक्ति रहने गरी क्वारेन्टाइन तयार गर्ने तालिम सेनाले दिएको छ । ‘आठै पृतनाबाट सहभागी सैनिकले अब आफू कार्यरत युनिटमा गई कोरोना भाइरससम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा आवश्यकबमोजिम स्थानीयस्तरमा क्वारेन्टाइन क्याम्प स्थापनासहित भाइरस संक्रमण रोकथाम र नियन्त्रणको काम गर्नेछन्,’ पाण्डेले भने । सरकारको निर्णयबमोजिम कोरोना भाइरसको उच्च जोखिमविरुद्ध रोकथाम र नियन्त्रणका लागि उपलब्ध भएका सबै उपाय अवलम्बन गर्न प्रतिबद्ध रहेको सेनाले जनाएको छ ।
५२ बेडको आइसोलेसन वार्ड
कोरोना भाइरसको सम्भावित संक्रमणलाई ध्यान दिँदै सेनाले ५२ बेडसम्मको आइसोलेसन वार्ड तयार गरिरहेको छ । यसअघि चीनबाट ल्याइएका १७५ नेपालीलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइन व्यवस्थापन गरेको सेनाले अहिले काठमाडौंको छाउनी अस्पताल तथा सबै पृतना एवं क्षेत्रीय सैनिक अस्पतालमा तयारी थालेको हो । सो क्वारेन्टाइन केन्द्र पनि भविष्यका लागि उपयोगमा ल्याउने गरी सरकारले तयारी अवस्थामा राखेको छ ।
सबै पृतनामा कम्तीमा दुईवटा र नेपालगन्ज, पोखरा र धनगढीस्थित क्षेत्रीय सैनिक अस्पतालमा पनि कम्तीमा दुई–दुईवटा आइसोलेसन वार्ड तयार भएका छन् । ‘फिल्ड एम्बुलेन्समा समेत गरेर हामी ५२ वटा आइसोलेसन बेड तयार गर्दै छौँ । तत्कालका लागि हामीले आन्तरिक प्रयोजनका लागि उपयोग गर्नेछौँ,’ पाण्डेले भने । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
कोरोना भाइरस प्रहरी नेपाली सेना