News

५५ देशका नागरिकलाई नेपाल आउन प्रतिबन्ध

५५ देशका नागरिकलाई नेपाल आउन प्रतिबन्ध

काठमाडौं । सरकारले कोरोना संक्रमण (कोभिड १९) देखिएकामध्ये ५५ देशबाट नेपालीसहित विदेशी नागरिकलाई नेपाल आउन प्रतिबन्ध लगाएको छ ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले २० मार्चदेखि १५ अप्रिल (७ चैतदेखि ७ वैशाख २०७७) सम्म कोरोना प्रभावित देशमध्ये ५५ वटा देशबाट नेपाल आउने नेपालीसहित विदेशीमाथि प्रतिबन्ध लगाएको हो ।

जसअनुसार युरोपका सबै मुलुक, पश्चिम एसियालगायत इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने नेपालीसहित विदेशी नागरिकलाई नेपाल आउन प्रतिबन्ध लगाइएको छ । यो निर्णयसँगै दक्षिण कोरिया, जापान, मलेसिया, यूएई, कतारलगायत मुलुकमा वैदेशिक रोजगारीका लागि गएका नेपालीसमेत तोकिएको समयसम्म स्वदेश फर्कन पाउनेछैनन् । उपप्रधान तथा रक्षामन्त्री एवं समितिका संयोजक ईश्वर पोखरेलको संयोजकत्वमा समितिको बैठक बसेको थियो ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले करिब ५५ देशका नागरिकलाई नेपाल आउन प्रतिबन्ध लगाएको बताए । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन।  

विदेशी नेपाल प्रतिबन्ध

विशेष