'बाँस्कोटाले ‘हामी’ भनेको को–को रहेछन् ?'
काठमाडाैँ – कांग्रेस सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको घटना छानबिन नभएकामा आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभा बैठकमा आइतबार बोल्दै प्रमुख प्रतिपक्षी दलका सभापति देउवाले अहिलेसम्म बास्कोटामाथि छानविन नहुनुले सरकारको दुषित रहेको देखिएको समेत दावी गरे ।
देउवाले भने– 'सञ्चारमन्त्रीले ७० करोड कमिसन मागेको अडियो सर्वजनिक भएको एकहप्ता पुगिसक्दा पनि गम्भीर छानविन नहुनुको पछाडि के नियत छ ? जो गम्भीर छ । सञ्चारमन्त्रीले हामीलाई कति आउँछ भनेर बोलेको सुनिन्छ । म सम्मानीय प्रधानमन्त्रीलाई के सोध्न चाहन्छु भने हामी भनेर कसलाई भनेका हुन् । हामीभित्र को–को पर्दछन् प्रष्ट गर्नु होस् । त्यो अडियो छानविन हुनुपर्छ ।'
उनले थप्दै भने,' छानविन गर्ने निकाय छानविन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो । त्यसले छानविन प्रभावित हुन्छ कि हुँदैन ? छानविन हुनुभन्दा पहिले नै तपाईँले निर्णय दिनुभयो भने तपाईका बोलीको विश्वसनियता कमजोर भएन ? यस्तै नेपाल ट्रस्टको श्वेतपत्र सेक्युरेटी प्रेस प्रिन्टिङ खरिदमा ७० करोड कमिसन मागेको अडियोबाट मुलुकको ध्यान मोड्ने प्रत्यन भइरहेको छ ।'