विमानस्थलहरुको सफाई अन्तर्राष्ट्रिय मापदण्डमा : मन्त्री भट्टराई 

विमानस्थलहरुको सफाई अन्तर्राष्ट्रिय मापदण्डमा : मन्त्री भट्टराई 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका आन्तरिक विमानस्थलको सरसफाईमा तीव्र सुधार गरिने बताउनु भएको छ । सफाई मजदुरहरुलाई आवश्यक तालिम र आधुनिक सामग्रीहरुको प्रबन्ध गरेर सरसफाईमा परिवर्तन ल्याइने उहाँको भनाई छ ।

शुक्रबार मन्त्रालयमा आयोजित गैर आवासीय नेपाली संघ (एनआरएनए)ले तयार पारेको देशभरका ११ विमानस्थलहरुको सरसफाई अवस्थाको ‘अडिट’ हस्तान्तरण कार्यक्रममा बोल्नु हुदैं मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विमानस्थलहरुको सफाईका लागि सरकारले काम गर्ने बताउनुभयो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता एवं सफाई विज्ञ खेमनाथ शर्माले ११ विमानस्थलहरुको सरसफाई अवस्थाको बेग्ला–बेग्लै ‘अडिट’बुझाउनु भएको थियो । धनगढी, नेपालगञ्ज, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, चन्द्रगढी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तर्राष्ट्रिय) को स्थलगत अध्ययनपछि ‘अडिट’ रिपोर्ट तयार पारिएको हो ।

‘अडिट’मा हाल विमानस्थलहरुका सरसफाईको अवस्था, समस्या, कानुनी समस्या र आगामी दिनमा गर्नुपर्ने कामहरुको सूची र सुझाव समावेश छ । शर्माले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सरसफाई गर्नुपर्ने सफाईका स्पष्ट कानुनी व्यवस्था, सरसफाई मजदुरलाई तालिमको व्यवस्था, सफाई मजदुरले प्रयोग गर्ने सामग्रीमा सुधार गर्नुपर्ने लगायतका सुझाव दिनु भएको छ ।

मन्त्री भट्टराईर्ल सुझाव महत्वपूर्ण भएको भन्दै ती सुझावका आधारमा विमानस्थलहरुको सरसफाई सुरु गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिनुभयो । 

उहाँले ती सबै सुझावहरु सम्बन्धित विमानस्थलहरुमा पठाइदिन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई निर्देशन दिँदै ती सुझावहरु तत्काल कार्यान्वयन गराउन र एक महिनापछि कार्यान्वयन अवस्था बारेमा रिपोर्ट तयार पार्न आग्रह गर्नुभयो । 

विमानस्थल मन्त्री योगेश भट्टराई

संम्बधित खबर

विशेष