‘टेप प्रकरण’मा आफ्नो नाम जोडिएकोमा राजपा सांसद यादवकाे आपत्ति

काठमाडौंः राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य एवम् प्रतिनिधि सभाका सांसद राजकिशोर यादवले अडियो टेप प्रकरणमा आफूलाई जोडेकोमा आपत्ति जनाएका छन् ।
नेता यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत अडियो प्रकरणमा आएको आफ्नो विषयका कुराहरूमा कुनै सत्यता नरहेको बताए ।
‘केही अनलाइनहरूमा आएको सम्वाद टेपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, नेता यादवले भनेका छन्, ‘गुड्डु सिंहले सम्वादमा मसँग कुराकानी भएको कुरामा कुनै सत्यता छैन ।’
‘टेलिफोनमा मात्र हैन विगत छ महिनादेखि न त कुनै किसिमको भेटघाट र फोन सम्वाद भएको छैन’, उनले भनेका छन्, ‘त्यसैले यो नितान्त मेरो राजनीतिक चरित्र हत्या गर्ने गन्ध आएको देखिन्छ ।’
‘सम्वादमा रहेका अन्य दुई जनासँग मेरो कुनै चिनजान र आजसम्म भेटघाट भएको छैन’, उनले भनेका छन्, ‘यदि कसैले पनि मेरो सम्वाद भएको पुष्टि गरेमा म राजनीतिबाट सन्यास लिने प्रतिबद्धता गर्दछु ।’
उनले भनेका छन्, ‘मेरो गरिमालाई कसैले षडयन्त्रपूर्ण तरिकाले बदनाम गरे कानूनी कार्वाही गर्न बाध्य हुनेछु ।’
राजपाका प्रदेश २ बाट राष्ट्रिय सभाको सांसदमा निर्वाचित भएका शेखरकुमार सिंहले साढे दुई करोड बुझाएर सांसद बनेको अडियो टेप सार्वजनिक भएको छ ।
सो विषयमा राजपाको अध्यक्ष मण्डका सदस्य यादवलाई जबरजस्ती मुछेर मानमर्दन गर्न खोजिएपछि उनले समाचारको खण्डन गरेका हुन् ।
राजपा राजकिशोर यादव