दिल्ली र तेलंगनामा पनि भेटिए कोरोनाका बिरामी!
काठमाडौं - चीनबाट सुरु भइ महामारीकाे रूप लिएकाे नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण भारतको राजधानी नयाँ दिल्लीमा पनि देखिएको छ । एक जना नयाँ दिल्ली र अर्को तेलंगनामा कोरोना संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।
नयाँ दिल्लीमा संक्रमण देखिएका बिरामी इटली र तेलंगानामा संक्रमण देखिएका बिरामी दुवईबाट आएका हुन । दुबै बिरामीको अवस्था स्थिर रहेको र उनीहरुलाई नजिकबाट अनुगमन गरिएको बताइएको छ ।
भारतमा पहिलो पटक केरलामा एक महिलामा कोरोनाको संकेत देखिएको थियो । कोरोनाभाइरसको संक्रमणबाट विश्वभरि ज्यान गुमाउनेको संख्या ३ हजार नाघेको छ । कोभिड–१९ का कारण मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस चीनको हुवे प्रान्तका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा राखेको छ ।