चीनबाट नेपाल ल्याइएका १७५ जनाकाे रिपाेर्ट नेगेटिभ, आजै घर फर्काइने
काठमाडौं- चीनको वुहानबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । १४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेभिट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको प्रयोगशाला परीक्षणमा कोरोना भाइरसको संक्रमण फेला नपरेपछि आजै घर फर्काइने भएको छ।
मन्त्रालयका प्रवक्ता देवकोटाले उनीहरुको रिपोर्टमा कोरोना नदेखिएकाले घर फर्काउने तयारी भएको बताए। ‘सबै जनाको ल्याब रिपोर्ट आइसकेको छ,’ उनले भने, ‘रिपोर्टमा सबै जनामा कोरोना भाइरसको संक्रमण देखिएन। त्यस कारण आजै घर फर्काउने तयारी भएको हो।’
क्वारेन्टाइनमा ल्याइएका उनीहरुको चीनबाट नेपाल आएको दिन पहिलो पटक नमुना परीक्षण गरिएको थियो। उक्त परीक्षणमा पनि उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो।चीनको वुहानमा कोरोना संक्रमण फैलिएपछि सरकारले त्यहाँ रहेका १७५ जनालाई ४ फागुनमा उद्दार गरेको थियो । उनीहरुलाई भक्तपुर, खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार १४ दिनपछि पुनःपरीक्षण गर्दा पनि नेगेटिभ नै आएको हो। उनीहरुको नमुना शनिबार संकलन गरिएको थियो। उनीहरुलाई ल्याउने चालक दलसहितका १८ जनाको टिमको पनि नमुनामा कोरोना पाइएको छैन। चालक दलका टिम आइतबार नै घर फर्किसकेका छन्। उनीहरुलाई नगरकोट क्वारेन्टाइनमा राखिएको थियो।
कोरोनाभाइरसको संक्रमणबाट विश्वभरि ज्यान गुमाउनेको संख्या ३ हजार नाघेको छ । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलने जोखिम अति उच्च भएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ । कोरोना फैलने क्रम तीब्र भएकाले विश्वव्यापी जोखिम अति उच्च भएको डब्लूएचओले जनाएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा पनि देखिएको छ । चीनपछि सबैभन्दा धेरै इरानमा २ सय ९० जनाको मृत्यु भएको छ । कोइराल र इटलीमा पनि कोरोनाको संक्रमण बढी देखिएको छ । खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ ।
कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई छ ।
विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् ।
विश्वका ५० भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । जेनेभामा भएको पत्रकार सम्मेलनमा डा. टेड्रोसले अहिलेसम्म भाइरसहरु स्वतन्त्र रुपमा फैलिएको प्रमाण अहिलेसम्म फेला नपरेको बताए ।