News

पशुपतिमा आजदेखि एकपटकमा १० जनाले मात्र दर्शन गर्न पाउने

पशुपतिमा आजदेखि एकपटकमा १० जनाले मात्र दर्शन गर्न पाउने

काठमाडौँ। पशुपतिनाथ मन्दिरमा आजदेखि एकपटकमा १० जनाले मात्र दर्शन गर्न पाउने भएका छन। विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरि पशुपति क्षेत्र विकास कोषले एकपटकमा १० जना दर्शनार्थीले मात्र दर्शन गर्न पाउने व्यवस्था गरेको हो। 

पशुपतिनाथ आउने स्वदेशी तथा विदेशी भक्तजनलाई दक्षिणतर्फको २ नं. ढोका मात्र प्रयोग गर्ने कोषले निर्णय गरेको छ । त्यस्तै आजदेखि अन्य १ र ३ नं. ढोका बन्द गरिनेछ। कोषको कार्यवाहक प्रमुखको जिम्मेवारी पाएका कोषाध्यक्ष डा. मिलनकुमार थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले एक पटकमा १० जना मात्र दर्शनार्थीलाई प्रवेश गर्न दिने निर्णय गरेको हो।

१० जना दर्शनार्थी दर्शन गरेर सोही ढोकाबाट बाहिर निस्केपछि अर्को १० जनाको टोली प्रवेश गराउने व्यवस्था मिलाइएको छ । योसँगै पशुपतिनाथको मन्दिरमा बिहान जल अभिषेकको समय र साँझको आरतीमा भक्तजनलाई रोक लगाइएको छ। कोषले पशुपतिनाथ मन्दिरमा गरिने विशेष पूजा र आरतीलाई अर्को सूचना नभएसम्मका दुई दिनअघि नै स्थगित गरिसकेको छ।

यसैगरी, विद्युतीय शवदाह गृहमा शव जलाउन मेसिनसम्म प्रवेश गर्न मृतकका नजिकका आफन्तमध्ये एक पटकमा सातजना मात्र प्रवेश पाउने भएका छन्। हुल हुज्जत हुन नदिन शवदाह गृहमा कम मान्छेको उपस्थितिका लागि कोषले यस्तो निर्णय गरेको हो। 

पशुपतिनाथ दर्शन

विशेष