कोरोना संक्रमित भएको आशंकामा पाइलट झ्यालबाट बाहिर निस्किए
एजेन्सी। पुणेबाट दिल्ली गइरहेको एयरएसिया इन्डियाको एक विमानमा शुक्रवार कोरोना भाइरसबाट संक्रमित भएको आशंका गरिएका यात्रुको बारेमा थाहा पाएपछि पाइलट झ्यालबाट बाहिर निस्केका छन् । विमान अवतरण गरेपछि पाइलट ककपिटको चिप्लेटी झ्यालबाट निस्केका हुन् ।
एयरएसिया इन्डियाका एक प्रवक्ताले भने, ‘पुणेबाट नयाँ दिल्ली जाँदै गरेको आई५–७३२ विमानमा कोभिड–१९ का संक्रमितहरू पहिलो पंक्तिमा बसेको आशंका गरियो । पछि यात्रुहरूलाई परीक्षण गरियो अनि भाइरस संक्रमित पाइएन ।’
विमान अवतरणपछि सुरक्षाका लागि विमानलाई अलि कुनातिर लगियो र संक्रमणको आशंका गरिएका यात्रुहरूलाई अघिल्तिरको ढोकाबाट बाहिर ल्याइयो, प्रवक्ताले भने । अन्य यात्रुहरूलाई विमान कर्मचारीले विमानको पछिल्तिरको ढोकाबाट बाहिर ल्याइएको जानकारी पनि ती प्रवक्ताले दिए ।
‘विमानबाट निस्कनु सुरक्षित छ भन्ने थाहा नपाउन्जेल ककपिटमा विमान कर्मचारीहरू सेल्फ क्वारेन्टाइनमा बसे । क्याप्टेन चाहिँ सुरक्षित चिप्लेटीबाट बाहिर निस्किए किनकि ककपिटबाट पहिलो पंक्तिका सीटहरू नजिकै थिए,’ प्रवक्ताले बताए । विमानमा संक्रमण हटाउन टन्नै रसायन छर्किइएको र घोटीघोटी सफा गरेको पनि उनले बताए ।