भारतीय प्रधानमन्त्रीले मागे माफी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा तीन साताका लागि लगाइएको लकडाउनका कारण जनतामा पुगेको असुविधाप्रति माफी मागेका छन्। भारतमा मंगलबारदेखि तीन साताका लागि लकडाउन चलिरहेको छ।
आइतबार रेडियो कार्यक्रम ‘मन की बात’मा जनतालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले लकडाउनको कारण गरिबहरुमा परेको असुविधाप्रति क्षमायाचना व्यक्त गरे।
उनले भने, ‘सबै जनतालाई सुरक्षित राख्न नचाहेरै पनि यस्तो निर्णय गर्नुपर्यो, कोरोना भाइरसबिरुद्धको लडायँमा यसको कुनै विकल्प थिएन।’
उनले अहिलेको संकटमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए। लकडाउन हुँदाहुँदै दिल्लीबाट हजारौँ मानिसहरु पैदल हिँडेरै अहिले गाउँगाउँ गइरहेका छन्।
भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण २५ जनाको ज्यान गइसकेको छ भने करिब हजार जना संक्रमित भइसकेका छन्।
‘मन की बात’ मा कुरा गर्दै प्रधानमन्त्री मोदीले अहिले सामाजिक दूरीको समय भए पनि मानसिक दूरीको समय भने नभएको बताएका छन्।