बुटवलमा आइसोलेसनमा निधन भएका युवकको रिपोर्ट ‘कोरोना नेगेटिभ’
बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेसनमा भर्ना भइ निधन भएका ३४ वर्षीय व्यक्तिको कोरोना परीक्षण 'नेगेटिभ' आएको छ ।
परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए । उनको अर्काे रिपोर्ट आउन भने बाँकी रहेको जनाइएको छ । उनी वैदेशिक रोजगारीबाट यही चैत ६ गते स्वदेश फर्किएका थिए ।
घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले उनी एक हप्तासम्म घरमै आराम गरी बसेका थिए ।
एक हप्तासम्म पनि ज्वरो नरोकिएपछि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि आएकामा उनलाई चिकित्सकको सल्लाहअनुसार प्रादेशिक अस्पतालको 'आइसोलेसन'मा भर्ना गरी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा आइतबार पठाइएको थियो ।