दार्चुलाको सीमा सयौं नेपाली अलपत्र
भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरी फर्किएका तीन सय भन्दा बढी नेपालीहरु सीमामा अलपत्र परेका छन् । पिथौरागढ, डिडिहाट, मसुरीलगायतका क्षेत्रमा काम गरी फर्किएका ३ सय १३ नेपाली तीन दिनदेखि दार्चुला सीमामा अलपत्र परेका हुन् ।
कोरोनाको संक्रमण फैलिएपछि त्यसलाई रोक्न भन्दै भारत सरकार र राज्य सरकारले लकडाउन गरेका छन् । सार्वजनिक यातायात, हवाई र रेलमार्ग पनि बन्द गरेको छ । यसरी गरेको बन्दको प्रभाव भारतमा कार्यरत नेपाली नागरिकमा परेको छ । श्रमका लागि भारत पुगेका, खासगरी सुदूरपश्चिमका नेपाली प्रभावित भएका छन् । उनीहरु हिडेरै भए पनि नेपाली सीमामा आइपुगेका छन् ।
सीमामा आइपुग्दा नेपालमा पनि लकडाउनका कारण सरकारले सीमानाका बन्द गरेपछि उनीहरु आफ्नै देश छिर्न पनि अहिले नारा लगाइरहेका छन् । ‘हामीलाई आफ्नो देश छिर्न दे’ भन्दै उनीहरु भारतीय क्षेत्रबाट नेपाल सरकारलाई सुनाइरहेका छन् । यस्तो समस्या खासगरी पश्चिम नेपालका मान्छेहरूको छ र पश्चिमी नाकामै दिनदिनै मान्छे आइरहेका छन् ।
नेपाल–भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा नेपाली मजदुरहरु तीन दिनको पैदल यात्रापछि पिथौरागढबाट धारचुला आइपुगेका हुन् । भारतका होटलहरुमा बस्न र खान नदिएपछि बाध्य भएर काम छोडेर फर्किनु परेको नेपालीहरुले बताएका छन् ।