उपभोक्ता समितिमार्फत रातो मछिन्द्रनाथको मन्दिर पुन: निर्माण गरिने
ललितपुर। विसं २०७२ को गोरखा भूकम्प गएको लगभग पाँच वर्ष हुन लाग्दा ललितपुर महानगरपालिका–२२ बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको अझै पुनःनिर्माण हुनसकेको छैन ।
मन्दिर पुनःनिर्माणका लागि तीन वर्ष पहिले जिम्मा लिएको श्रीलङ्का सरकारले विगतका तीन ठेकेदार थेगिस, पेरा र तुलसी कन्स्ट्रक्सन जेभीसँग असमझदारी भएपछि गत डिसेम्बरदेखि मन्दिर पुनःनिर्माणका लागि ठ्याक्कै हात झिकिसकेको छ । श्रीलङ्का सरकारले हात झिकेको दुई महिना भइसक्दा पनि मन्दिर पुनःनिर्माणका लागि कसले कदम अघि बढाउँछ भन्ने अन्योल कायम छ ।
सार्वजनिक खरीद ऐन, २०६३ बमोजिम मन्दिर पुनःनिर्माणका लागि ठेक्कापट्टा गर्दा चाहेको गुणस्तर पाउन नसकिने महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए । “हामीले उपभोक्ता समिति गठन गरी यस मन्दिरको पुनःनिर्माण गर्ने निर्णय गरिसकेका छौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणका लागि आवश्यक रकम उपलब्ध गराउन तत्पर भइसकेको छ”, उनले भने।
महानगर प्रमुख महर्जनका अनुसार मन्दिर पुनःनिर्माणका लागि अब ठेक्कापट्टा नगरिने कुरा अघि बढेको छ । मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण दुवैबाट महानगरपालिकामा हालसम्म समिति गठन गर्नू भनी पत्र नआएको उनले बताए । “यदि प्राधिकरणले विभागलाई लेखेबमोजिम महानगरपालिकामा उपभोक्ता समिति गठन गर भनेर पत्र आयो भने छिट्टै समिति गठन गरी काम अघि बढाउने छौं', उनले भने ।
रातो मछिन्द्रनाथ पुन:निर्माण