एक बर्षमै उप्कियो कालोपत्रे: सरकार बनाउने, टिपर भत्काउने
रोल्पा। राज्यले करोडौंको लगानीमा निर्माण गरेको सहिद–मार्ग सडक सोनापुर सिमेन्ट उद्योगको चरम लापरबाहीका कारण अल्प समयमै जीर्ण बनेको छ।
दाङमा रहेको सो सिमेन्ट उद्योगले चुनढुंगा निकासी गर्न सडकको क्षमताभन्दा धेरै भार बोकेका टिपरहरू कुदाउँदा घोराही हुँदै रोल्पा होलेरीसम्मको सडक कालोपत्रे गरिए पनि उक्किएर कच्ची सडकभन्दा पनि जीर्ण बनेको हो। सिमेन्ट उद्योगका लागि वैकल्पिक मार्ग भए पनि त्यो प्रयोग नगरी टिपर चालकहरूले सहिद–मार्ग नै रोज्ने गर्छन्।
सहिद–मार्गमा सोनापुर सिमेन्टका लागि दैनिक दुईदर्जन टिपर क्षमताभन्दा बढी भारको चुनढुंगा बोकेर कुद्ने गर्छन्। उद्योगले चुनढुंगा ओसार्न अर्को सडकको स्वीकृति ल्याएको भए पनि सहिद–मार्ग नै प्रयोग गरिरहेको छ। कालोपत्रे भएको १४ महिना नबित्दै टिपरका कारण सडक तहसनहस भए पनि मर्मत गर्नेतर्फ ध्यान दिइएको छैन।
साढे ३१ किलोमिटर दूरीको उक्त सडकमा यात्रा गर्न गाह्रो हुन थालेको छ। पहाडी घुम्ती उक्त सडकमा दर्जनौं स्थानमा ठूल्ठूला खाल्डा परेपछि सवारीचालक र यात्रु हैरान बनेका छन्। यो समाचार आजको नागरिक दैनिकमा दिनेश सुबेदीले लेखेका छन ।
कालोपत्रे टिपर