News

चीनमा पाकिस्तानी विद्यार्थी अलपत्र

चीनमा पाकिस्तानी विद्यार्थी अलपत्र

काठमाडौँ । कोरोना भाइरसबाट चीनको हुबेई प्रान्तको वुहान र जिङझोउ शहरमा १२ सय पाकिस्तानी विद्यार्थीहरु छन् । त्यसबाहेक चीनभर पाकिस्तानी विद्यार्थीको संख्या २८००० भन्दा धेरै छ । तर चीनमा कोरोना भाइरसको महामारी फैलिरहेका बेला ती विद्यार्थीहरु भने अलपत्र परेका छन् ।

तर, पाकिस्तानका केही स्वार्थ छन्, जसका कारण उसले आफ्ना नागरिकलाई चीनबाट स्वदेश फर्काउन चाहेको देखिँदैन । न त पाकिस्तानसँग कोरोना भाइरसको महामारी फैलिएको खण्डमा त्यसको व्यवस्थापन गर्ने क्षमता नै रहेको छ ।

चीनप्रति ऐक्यबद्धता देखाउन भन्दै त्यहाँबाट आफ्ना नागरिक स्वदेश फर्काउन अस्वीकार गर्ने पाकिस्तानी कदम आफैँमा हास्यास्पद छ । यसबाट पाकिस्तानले आफ्ना नागरिकप्रतिको जिम्मेवारी बहन नगरेको स्पष्ट हुन्छ । पाकिस्तानले आफ्नो प्राथमिकतामा आफ्ना नागरिकहरुप्रतिको जिम्मेवारी भन्दा पनि चीनप्रतिको ऐक्यबद्धता महत्वपूर्ण रहेको बताउनु उदेकलाग्दो कुरा हो ।

अर्कोतर्फ त्यहाँ रहेको पाकिस्तानी विद्यार्थीहरुको अधैर्यता भने दिनप्रतिदिन बढ्दै गएको छ । टेलिभिजन अन्तरवार्ता, उनीहरुले आफन्तलाई गर्ने टेलिफोनबाट उनीहरु आफ्नो सरकारको मनोवृत्ति प्रति प्रकट गर्दै आएका छन् । चीनमा रहेका आफ्ना नागरिकहरुले भाइरस सार्न सक्ने आशंका कै कारण उसले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नचाहेको हो । ५० जनाभन्दा धेरै पाकिस्तानी विद्यार्थीहरु खैबर पख्तुनख्वा राज्यको मुख्यमन्त्री चिनियाँ भाषा छात्रवृत्ति कार्यक्रमअनुसार हाल हर्बिन इन्जिनियरिङ विश्वविद्यालयमा अध्ययनरत छन् । उनीहरुले केही समय अघिमात्रै छात्रवृत्ति अनुसारको रकम नपाएको भन्दै हंगामा मच्चाएका थिए ।

गत डिसेम्बर महिनामा चीन आउँदा ल्याएको सबै पैसा सकिएपछि उनीहरुको अवस्था दयनीय बनेको छ । उनीहरुले आफ्ना समुदायका मानिसहरुसँग मागेर खर्च चलाउनुपर्ने बाध्यता छ । सामुदायिक सहयोग पनि घट्दै जान थालेपछि स्वास्थ्य प्रकोपको यो अवस्थामा उनीहरु संकटग्रस्त अवस्थामा छन् । उनीहरुले त्यहाँ रहेको पाकिस्तानी नियोगमा बारम्बार सम्पर्क गर्दा पनि पैसा वा अरु सहयोग गर्नुभन्दा पनि ‘सल्लाह’ मात्र पाए ।

उनीहरुको अवस्था अत्यन्त दयनीय छ । उनीहरु आफ्नै कोठामा थुनिएर बस्नुपरेको छ । उनीहरु सस्तो खानेकुरा किन्न पनि बाहिर जान पाएका छैनन् । वर्तमान अवस्थामा पैसाको अभाव त छदैछ, त्यसमाथि भाइरसको त्रासले पनि उनीहरुलाई सताएको छ । यस्तो संकटग्रस्त अवस्थामा समुदायले दिएको सहयोग पनि सकिसकेको छ । 

क्वारेन्टाइन, पैसाको अभाव र मनोवैज्ञानिक अवस्थाले उनीहरुलाई बेचैन बनाएको छ । बेइजिङ र शाङ्घाई शहरमा रहेका पाकिस्तानी विद्यार्थीका कारण पाकिस्तानलाई एक किसिमको दबाब सिर्जना भइरहेको छ । उनीहरु आफ्नै राज्यसँग आफूलाई स्वदेश फर्काइदेऊ भनी माग गरिरहेका छन् । तर, त्यस्तो हुने छाँटकाँट छैन । बेइजिङ विश्वविद्यालयले पढाई स्थगित गरिसकेको अवस्थामा पाकिस्तानी विद्यार्थीहरु त्यहाँ बसिरहनुपर्ने कुनै कारण नै छैन ।

प्रधानमन्त्री कार्यालयमा जानकारी दिनेदेखि लिएर, बेइजिङस्थित दूताबासमा कुरा राख्नेसम्म सबै उपायहरु अपनाइसके पनि उनीहरुको माग सुनुवाई भएको छैन । आजकल त दूतावासको उजुरी शाखाले पनि उनीहरुको उजुरी लिन बन्द गरिसकेको छ । उनीहरु सरकारको काम प्रति कतिपनि सन्तुष्ट छैनन् ।  चीनका दर्जनभन्दा धेरै शहरहरु बन्द छन् । मानिसहरु घरबाहिर निस्कन समेत डराउँछन् । यस्तो अवस्थामा पाकिस्तानले चीनसँग आफ्ना नागरिकहरुलाई बचाउन मात्र आग्रह गरेको छ । आफ्नो गैरजिम्मेवारीपन लुकाउन पाकिस्तानले विश्व स्वास्थ्य संगठन डब्लूएचओको समेत साहारा लिएको छ ।

चीनमा रहेको विद्यार्थी र अरु पाकिस्तानी नागरिकहरु उद्धार गरिदिन भन्दै त्यहाँको दूतावास र कूटनीतिक नियोग धाउने गरेका छन् । त्यसको बदलामा पाकिस्तानले पीडितलाई स्वदेश फर्काउने विषयमा चासो दिने भन्दा पनि केबल कोरोना भाइरसबाट जोगिने उपयहरु बताएर टार्ने गरेको छ । चीनमा ४ जना पाकिस्तानी नागरिकमा पनि कोरोना भाइरसको संक्रमण देखिएको खबरले पाकिस्तानमा रहेका विद्यार्थीका आफन्तहरुमा खैलाबैला नै मच्चिएको छ । 

आफ्ना नागरिकहरु पीडामा रहँदा पनि पाकिस्तान चुप बस्नु आश्चर्य छ ।पाकिस्तानलाई चीनमा कति विद्यार्थी छन र कतिले स्वदेश फर्काउने माग गरेका छन् भन्ने पनि थाहा छैन । पाकिस्तानका बलोचिस्तान, सिन्ध र पञ्जाव प्रान्तका करिब एक सय विद्यार्थीहरु हाल जिङझोउ प्रान्तको याङ्त्से विश्विद्यालयमा अध्ययनरत छन् । 

यही जनवरी महिनाको पहिलो साता उनीहरुले डिग्री प्राप्त गरिसक्नुपर्ने र फेब्रुअरी महिनामा नै नोटरी गराउनका लागि पाकिस्तान फर्किसक्नुपर्ने थियो । अहिले उनीहरु चिनियाँ यात्रा प्रतिबन्ध, आर्थिक अभाव र भिसाको म्याद गुज्रिसकेको अवस्थाको सामना गरी चीनमा नै बसिरहनुपरेको छ । उनीहरुले तत्काल आफूहरुलाई उद्धार गर्न माग पनि गरेका छन् । त्यसमाथि उनीहरु र पाकिस्तानमा रहेका आफन्तले पाकिस्तानको गैरजिम्मेवारीपनका कारण दुव्र्यवहारको समेत सामना गरिरहनु परेको छ । 

उनीहरुले पाकिस्तानी प्रधानमन्त्रीसँग स्वदेश फर्काइदिन समेत माग गरेका छन् । सायद पाकिस्तान ‘सदावहार’ मित्र चीनले आफ्ना नागरिक फर्काइदियोस् भन्ने आश गरिरहेको छ । वर्तमान अवस्थामा संकटसँग जुझिरहेको चीनसँग आफ्नो ‘मित्र’ बारे सोच्ने समय नै छैन ।

अलपत्र चीन पाकिस्तानी विद्यार्थी

विशेष