News

कारोना भाइरसको असरः नेकपाका प्रदेश भेला–प्रशिक्षण स्थगित

कारोना भाइरसको असरः नेकपाका प्रदेश भेला–प्रशिक्षण स्थगित

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको पूर्व जाने कार्यक्रम स्थगित भएका छन् । गृहमन्त्री रामवहादुर थापा ‘बादल’ पनि पूर्व जान एयरपोर्ट पुगे पनि बीच बाटोबाटै फर्केका छन् । नेकपाको झापा विर्तामोडमा आज पार्टीको प्रदेश स्तरिय भेला प्रशिक्षण कार्यक्रम थियो ।

कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल जाने कार्यक्रम तय भएको थियो । तर अन्तिम समयमा आएर सरकारले कोरेना भाइरसको सम्भावित जोखिमबाट टाढा रहनका लागि ठूला सभा–सम्मेलन नगर्न गरेको आग्रह लाई मध्यनजर गरेर नेकपाले आन्तरिक भेला प्रशिक्षण रोक्ने निर्णय लिएको हो ।  

भेलाका लागि वरिष्ठ नेता खनाल भने हिजो नै झापा पुगिसकेका थिए । तर आज बिहान उक्त कार्यक्रम रोक्न केन्द्रले निर्देशन दिएको प्रदेश १ का  इन्चार्ज तथा स्थायी समिति सदस्य भीम आचार्यले जानकारी दिए ।  विर्तामोडको सीटी सेन्टरमा प्रशिक्षण कार्यक्रम तय गरिएको थियो । तर बिहान मात्रै नेताहरुले कार्यक्रम हाललाई स्थगित गर्न प्रदेश पदाधिकारीलाई निर्देशन गरेका हुन् ।
 
आज प्रशिक्षण कार्यक्रम गर्ने र भोलि सुखानी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाइ नेकपा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले सम्वोधन गर्ने गरी कार्यक्रम तय गरिएको थियो । उक्त कार्यक्रम पनि अब स्थगित भएको छ । सुखानी शहीद स्मृति दिवसका दिन कोही नेताहरुले सामान्य रुपमा शहीद प्रति श्रद्धान्जली दिन पुगेपनि सभाको कार्यक्रम भने रोकिएको इन्चार्ज आचार्यले जानकारी दिए ।

नेकपाले यस अगाडी कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, ५ नम्वर प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा पार्टी प्रशिक्षण तथा राजनीतिक भेलाको आयोजना गरिसकेको थियो । प्रदेश १ मा र २ मा मात्र बाँकी थियो । यो हाललाई स्थगित भएको नेकपाले जनाएको छ । 

नेकपा रामवहादुर थापा ‘बादल’

विशेष