ट्रकको ठक्करले युवकको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
सर्लाही – सर्लाहीमा ट्रकको ठक्करले युवकको मृत्यु भएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरिएकाे छ। हरिवन नगरपालिका-४, सासापुर गणेश चौकमा मंंगलवारदेखि मध्यान्ह पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको हाे। सोमवार राति गणेश चौकमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि राती नै स्थानीय वासिन्दाले राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्।
पूर्वबाट आइरहेको ना. ८ ख ८५२१ नम्बरको ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हरिवन नगरपालिका-४ तिनघरे निवासी २२ वर्षीय रोशन भुजेलको मृत्यु भएको हाे।
प्रहरीले यातायात व्यवसायीलाई मंगलवार बिहान छलफलमा बोलाएर मृतकका परिवारलाई कानुन बमोजिमको राहत रकम उपलब्ध गराउने र घटनाको अनुसन्धान गर्ने सहमति गरेको थियो। तर यातायात व्यवसायी सम्पर्कमा नआएपछि स्थानीयवासी पुनः राजमार्गमा भेला भएर चक्काजाममा उत्रिएका हुन्।
उक्त ट्रकको ठक्करबाट अर्को मोटरसाइकलमा सवार दुईजनासमेत घाइते भएको स्थानीयले बताएका छन्। हरिवन नगरपालिका-४ का वडाध्यक्ष धनबहादुर वाइबाले शव ईलाका प्रहरी कार्यालय हरिवनमा रहेको बताए। घाइतेहरुको उपचार लालबन्दीमा भइरहेको उनले जानकारी दिए।