अर्थमन्त्री खतिवडाको आज राजीनामा दिँदै, भोलि पुनःनियुक्ति हुँदै
काठमाडौं । राष्ट्रियसभा सदस्यमध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि आज मंगलबार सकिँदैछ । गोलाप्रथाबाट दुईवर्षे कार्यकालको जिम्मेवारी पाएका अर्थमन्त्री डा. युवराज खतिवडालगायत १९ जनाको पदावधि मंगलबारबाट सकिन लागेको हो ।
आफ्नो कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबारै राजीनामा दिने तयारी गरेका छन् । आइतबारको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिबाट मनोनित हुने सिटमा कसैको नाम सिफारिस नगरेपछि खतिवडाले राजिनामा दिन लागेका हुन् । राष्ट्रियसभामा उनको कार्यकाल सकिन लागेकाले उनले राजिनामा दिनु पर्ने संघीय संसदको सचिवालयले जनाएको छ। तर राजीनामा पछिपनि खतिवडालाई अरु ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने नेकपाको तयारी छ । त्यसका लागि खतिवडाले मंगलबार राजीनामा गर्ने र भोलि ६ महिनाका लागि अर्थमन्त्री पुनःनियुक्त गर्ने तयारी छ ।
सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्नसक्ने कानुनी व्यवस्था रहेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । प्रधानमन्त्री केपी ओलीको चाहानाविपरित नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले खतिवडालाई थप ६ महिनाका लागि मन्त्रीमा पुनःनियुक्ति गर्ने र गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनितका लागि सिफारिस गरेको बुझिएको छ ।