बामदेवलाई राष्ट्रिय सभामा लैजाने नेकपाको निर्णय अलपत्र
काठमाडौँ । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने कोटामा राष्ट्रिय सभामा लैजाने नेकपाको निर्णय भने अलपत्र परेको छ ।
पार्टी निर्णय कार्यान्वयन नगरी प्रधानमन्त्री केपी ओली मिर्गाैला प्रत्यारोपणका लागि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनको बुधबार मिर्गौला प्रत्यारोपण हुँदै छ ।
पार्टी निर्णय कार्यान्वयनका लागि दबाब दिँदै आएका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललगायतका नेताहरू पनि प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाका कारण मौन बसेका छन् ।
वरिष्ठ नेता नेपालले तत्कालका लागि खतिवडालाई मन्त्रीमा निरन्तरता दिँदै गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टी निर्णय पनि कार्यान्वयन गर्न ओलीलाई सुझाब दिँदै आएका थिए । तर, प्रधानमन्त्री ओली यो सुझाबमा पनि गएनन् । अब उनी पूर्ण स्वस्थ नभएसम्म सांसद बन्ने गौतमको सम्भावना टरेको छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार गौतमको नाम अहिलेसम्म मन्त्रिपरिषद्बाट निर्णय गरेर राष्ट्रपति कार्यालयमा सिफारिस भएको छैन । नयाँ पत्रिका दैनिकबाट
बामदेव गौतम