News

स्नातक पास गर्ने छोरीलाई एक लाख पुरस्कार

स्नातक पास गर्ने छोरीलाई एक लाख पुरस्कार

काठमाडौँ । रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन् ।मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न स्नातक उत्तीर्ण गर्ने छोरीका लागि पुरस्कार घोषणा गरेको छ ।

स्थानीय स्तरमा छोराछोरीबीच देखिएको शिक्षाको विभेद हटाउन र छोरीलाई पनि छोरासरह शिक्षा दिलाउन गाउँपालिकाले यस्तो घोषणा गरेको हो । अब स्नातक तह उत्तीर्ण गर्ने छोरीलाई गाउँपालिकाले पुरस्कारस्वरूप एक लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष केशवानन्द बानियाँले बताए ।

सामाजिक कुरीतिका रूपमा रहेको बालविवाह, दाइजो प्रथाका कारण छोरीले बीचमै पढाइ छोड्ने अवस्था रहेकाले गाउँपालिकाले यस्तो निर्णय गरेको उनको भनाइ छ ।

“छोरी बचाऔँ, छोरी पढाऔँ” योजनासहित एक लाख रुपियाँ नगद पुरस्कार दिने घोषणा गरिएको अध्यक्ष बानियाँले जानकारी दिए । उनले छोरी जन्माउने आमालाई १० हजार रुपियाँ नगद र एक किलोग्राम घिउ पौष्टिक आहारसमेत गाउँपालिकाबाट दिने व्यवस्था मिलाइएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण पौडेलले लेखेका छन ।  

स्नातक पास एक लाख पुरस्कार

विशेष