News

अवैध रुपमा काम गरिरहेका आठ जना चिनियाँ नागरिक पक्राउ

अवैध रुपमा काम गरिरहेका आठ जना चिनियाँ नागरिक पक्राउ

गोरखा - गोरखामा अबैध रुपमा काम गरिरहेका आठ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । नौलोनेपाल हाइड्रोपावर कम्पनीअन्तर्गत अपरबूढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका आठजनालाई सोमबार नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।

पक्राउ पर्नेमा ट्याङ गुवाङलिन, ट्याङ डाक्वीङ, ट्याङ जुन, ट्याङ जियानहुवा, ट्याङ युजेन, याङ चुन, याङ जियाचुन र लिङ्घु केशेङ रहेका छन् । उनीहरु सबैलाई आरुघाट गाउँपालिका वडा नं। ३ सोती भन्ने ठाउँमा काम गरिरहेको अबस्थामा नियन्त्रणमा लिइएको उनीहरुलाई सोमबार साँझ नै अध्यागमन बिभागमा पठाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

यसअघि नौलो नेपाल हाइड्रोपावर कम्पनीले १५ जनाभन्दा धेरै चिनियाँ नागरिकलाई कामदारको रुपमा ल्याएको थियो । ‘यसअघि पनि उनीहरुले आधिकारिक कागजपत्र बिना काम गरेको भन्ने जानकारी आएको थियो ।

हामीले तत्काल आवश्यक कागजपत्र जुटाउन आग्रह गरेका थियौं’, प्रजिअ पौडेलले भने, ‘तर कागजपत्र जुटाउनुको साँटो कोहीले काम छोडेर भागिसकेछन् आठ जना भने अझै काम गरिरहेका रहेछन् । त्यसैले नियन्त्रणमा लिएका हौं । सबैलाई अध्यागमन बिभागको जिम्मा लगाउँछौं ।’

कतिपयसँग पर्यटन भिजा रहेको, तर काम गर्न पाउने कागजात नभएको र कतिपयसँग भने भिजा नै नभएको भेटिएको उनले बताए । एकहप्ताअघि नै सचेत गराउँदा पनि अटेरी गरेकाले नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए ।

विशेष