News

बैठक छाड्ने सांसदलाई दैनिक २ लाख बढी भत्ता !

बैठक छाड्ने सांसदलाई दैनिक २ लाख बढी भत्ता !

काठमाडौँ । सांसदहरू हाजिर गर्दै बाहिरिँदा गणपूरक संख्या नपुगेर प्रतिनिधिसभा बैठक सञ्चालनमै कठिनाइ भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक संख्यामा सांसद नहुँदा पछिल्लो साता मात्रै चारवटा बैठक स्थगन गरेका छन् । 

संसद् सचिवालयको अभिलेखमा भने गत १३ देखि १९ गतेसम्म सञ्चालन भएका चार बैठकमा एक सय ४४ देखि एक सय ८१ जनासम्मको हाजिरी देखिन्छ । प्रतिनिधिसभामा दुई सय ७५ जना सांसद छन् । गणपूरक संख्याका लागि एक चौथाइ अर्थात् ६९ जनाको उपस्थिति चाहिन्छ ।

सांसदले प्रतिव्यक्ति दैनिक दुई हजार रुपैयाँ भत्ता पाउँछन् । सचिवालयका अनुसार गत १३ गते एक सय ८१ जना सांसदले हाजिर गरेका छन् । तर त्यस दिन बैठकमा गणपूरक संख्या यकिन गर्न घण्टी बजाउँदा ५८ जना मात्र सांसद उपस्थित थिए । अर्थात् हाजिर गरेर एक सय २३ जना सांसदले बैठक छाडेका थिए । यस हिसाबमा त्यस दिन बैठकमा अनुपस्थित ती सांसदलाई दुई लाख ४६ हजार रुपैयाँ भत्ता दिनुपर्नेछ । ‘जनताले संसद्मा कानुन बनाउन पठाएका हुन् ।

सांसदले आफैं नैतिकताको ख्याल गर्नुपर्ने हो,’ संसद् सचिवालयका एक अधिकारीले भने, गत १५ गते एक सय ७५ जनाले हाजिर गरेकामा गणपूरक संख्या यकिन गर्दा ५८ जना सांसदको मात्र उपस्थिति थियो । त्यस दिन सभामुख सापकोटाले संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गराउन खोजेका थिए । गत १८ गते एक सय ५६ जनाको हाजिरी थियो । तर गणपूरक संख्या यकिन गर्न खोज्दा ५४ जनाको मात्र उपस्थिति देखियो ।

सोमबार एक सय ४४ जना सांसदले हाजिर गरेका छन् । तर त्यस दिन कांग्रसकी सांसद पार्वता डीसी चौधरीले गणपूरक संख्या नपुगेको सूचना सभामुखलाई दिएकी थिइन् । तीन मिनेट घण्टी बजाउँदा ६५ जना मात्र सांसदको उपस्थिति देखिएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले लेखेका छन । 

प्रतिनिधिसभा बैठक

विशेष