टिपरको ठक्करबाट हजुरबा-नातिनीको मृत्यु
विराटनगर । टिपरको ठक्करबाट विराटनगरमा हजुरबा र नातिनीको मृत्यु भएको छ ।
बिराटगर महानगरपालिका–१९ मिलनचोकमा पूर्वबाट पश्चिम दिशातर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हो ।
मृत्यु हुनेमा अटो चालक मोरङ ग्रामथान २ बस्ने ४५ वर्षीय बाबुराम सरदार र उनको नातिनी ६ वर्षीया सबिता सरदार रहेको प्रहरी नायक उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
घटनालगत्तै मृतकका आफन्त र स्थानीयले टिपरमा आगजनी गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङ तथा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले भिडलाई हटाएर दमकलको सहयोगमा आगो निभाएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङले टिपर चालक सुनसरी रामधुनी नगरपालिका ५ बस्ने ३३ वर्षीय हरेराम चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।