डा. युवराज खतिवडा पुन: अर्थमन्त्रीमा नियुक्त
काठमाडौँ । दुई वर्षे कार्यकाल सकिएलगत्तै मंगलबार अर्थमन्त्रीको पदबाट राजीनामा दिएका डा. युवराज खतिवडालाई फेरि अर्थमन्त्रीमा नियुक्त गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई आज अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडालाई अर्थमन्त्री नियुक्त गरेको राष्ट्पति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४ फागुन ०३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिशमा डा. युवराज खतिवडाज्यूलाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले सम्हाली आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
खतिवडालाई आजै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ दिलाइने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
#डा. युवराज खतिवडा