प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, मृगौलाले काम गर्न थाल्यो
काठमाडाैं । उपचाररत नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएको छ ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेमकृष्णा खड्काले बिहीबार अस्पतालमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक पनि राम्रो रहेको जानकारी दिँदै स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार हुँदै गएकाे बताए।
प्रा.डा.खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको मृगौला प्रत्यारोपण गरिएको आज दोस्रो दिन, उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएको छ । प्रत्यारोपित मृगौलले पनि सामान्य रुपमा कार्य थालिसकेको छ । उहाँको सबै भाइटल र ल्याब सूचकहरु सामान्य अवस्थामा रहेका छन् । उहाँलाई आजदेखि तरल र नरम आहार दिन शुरु गरिएको छ । मृगौलादाता श्रीमती समिक्षा संग्रौलाको पनि स्वास्थ्य स्थिति स्थिर छ र उहाँलाई पनि आजदेखि तरल तथा नगम आहार दिन शुरु गरिसकिएको छ ।’
ओलीको बुुधबार दोस्रोपटक मिर्गोला प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएको थिए । उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् ।