हानिकारक रसायन भेटिएपछि बंगलादेशमा ८ पाकिस्तानी फेयरनेस क्रिममा प्रतिबन्ध

काठमाडौँ । बंगलादेशको गुणस्तर तथा परीक्षण निकाय बीएसटीआईले पाकिस्तानी फेयरनेस क्रिममा पारोजस्ता हानीकारक रसायनको मात्रा उच्च पाईएपछि यस्ता ८ क्रिमहरुमा प्रतिबन्ध लगाएको छ ।
बीएसटीआईले यस्ता सामानको आयात र अनलाइनसहितका प्रकारबाट विक्री गर्न प्रतिबन्ध लगाएको हो । निकायको प्रमाणपत्र विभागका सहायक निर्देशक अब्दुल हानिफले बंगलादेशको बीडी न्यूज २४ लाई दिएको जानकारीअनुसार सरकारका अन्य निकायसँग सहकार्य गरी यस्ता उत्पादनविरुद्ध थप कदम चालिनेछ ।
समाचारका अनुसार बीएसटीआईले गत महिना अनलाइन सपिङ साइट दराजसहित बजारबाट यस्ता १३ सामानको नमूना अध्ययन गरेको थियो । अध्ययनका क्रममा ६ वटा यस्ता सामानमा मानव स्वास्थ्यलाई हानि गर्ने पारोसहित हाइड्रोकिनोनको मात्र उच्च रहेको भेटिएको थियो ।
लामो समयसम्म कसैले यस्ता सामानको प्रयोग गरेमा त्यस व्यक्तिमा छालासम्बन्धी रोग लाग्ने अध्ययनले देखाएको थियो । सामानमा हानिकारक पदार्थ भेटिएसँगै यस्ता समान विक्री नगर्न अनलाइन सपिङ साइट दराजलाई चेतावनी दिइएको छ । यता दराजले भने आफूले यस्ता सामानको उत्पादन गर्ने नभई विक्री मात्र गर्दै आएको प्रतिक्रिया दिएको छ ।
प्रतिबन्ध फेयरनेस क्रिम