News

भद्रपुर विमानस्थलमा कोरोना भाइरस परामर्श तथा परीक्षण कक्ष स्थापना

भद्रपुर विमानस्थलमा कोरोना भाइरस परामर्श तथा परीक्षण कक्ष स्थापना

झापाः कोरोना भाइरस भित्रन नदिन झापाको चन्द्रगढी विमानस्थलमा आजदेखि कोरोना भाइरस हेल्थ डेस्क स्थापना गरिएको छ । विभिन्न ठाउँबाट आएका मानिसको आवतजावत हुने भएकोले कारोना भाइरसविरुद्ध सचेतना अपनाउँदै विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको हो ।

भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाको व्यवस्थापन तथा जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा विमानस्थलमा ‘कारोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’ आजदेखि सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरण भद्रपुरका प्रमुख पूर्णप्रसाद चूडालले जानकारी दिए ।

कक्षलाई एक थान इन्फोरेट थर्मामिटर (ज्वरो नाप्ने यन्त्र) प्राप्त भएको छ । भद्रपुर बिमानस्थल प्रयोग गरी काठमाडौं जाने यात्रुको सो यन्त्रको माध्यमबाट ज्वरो नापिनेछ । ९८.६ डिग्रीभन्दा माथि तापक्रम भएका यात्रुलाई परामर्शसहित यात्रा नगर्न सल्लाह दिइनेछ भने निकै ज्वरो आएको यात्रु भेटिएमा नजिकको अस्पतालमा रेफर गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले बताए । 

मानिसको निकै चाप रहने विमानस्थलमा निकै सावधानी अपनाउनुपर्ने र कोरोना भाइरसविरुद्धको सचेतना प्रचार सामग्री वितरण गरिनुपर्ने मेची अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरले जानकारी दिए ।  

चन्द्रगढी विमानस्थल कोरोना भाइरस हेल्थ डेस्क

विशेष