कोरोनाको आशंका गरिएका व्यक्ति टेकु अस्पतालबाट भागे
काठमाडौं । कोरोना भाइरसको संक्रमण लागेको आशङ्कामा अस्पताल भर्ना भएका एक व्यक्ति भागेका छन्।
महानगरीय प्रहरी कार्यालय रानी पाेखरीका प्रवक्ता तथा एसएसपी श्याम ज्ञवालीले बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशङ्कामा भर्ना गरिएका सुनसरी घर भएका एक व्यक्ति अस्पतालबाट भागेको जानकारी दिए।
उनलाई अस्पतालको आइसोलेसनमा राख्ने तयारी भएको थियो। तर‚ उनले सो कुरा अटेरी गरिरहेका थिए। त्यसको केही समयपछि अस्पतालबाटै भागेको प्रहरीले जानकारी दिएको छ।
गत मंगलबार कोरियाबाट नेपाल फर्केका ती व्यक्ति बुधबार राती ८ बजे अस्पतालबाट फरार भएको प्रहरीले जनाएको छ। बिहीबार बिहान प्लेनमार्फत विराटनगर गएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ।