News

'ग्यासको अभाव भएको छैन, कसैले कालोबजारी गरे खबर गर्नुस्'

'ग्यासको अभाव भएको छैन, कसैले कालोबजारी गरे खबर गर्नुस्'

चीनबाट सुरू भएर विश्वभर फैलिएकाे नाेबेल कोरोना भाइरस (काेभिड–१९) को जोखिम बढ्दै गएको भन्दै मानिसहरुले दैनिक उपभोग्य सामाग्रीको भण्डारण गर्न थालेकाे छन्। त्यस्तै व्यापारीहरूले बस्तुहरूकाे कृतिम अभाव सिर्जना गर्न सुरु गरेका छन् । जसका कारण ग्यास लगायतका दैनिक उपभोग्य सामाग्रीको बजारमा अभाव देखिन थालिएको छ । बजारमा ग्यास लगायतका वस्तुको अभाव हुन थालेको उपभोक्ताहरुको गुनासो रहेको छ ।

मास्क र स्यानेटाइजर लगायतका वस्तुको अभाव र चर्को मूल्य असुल भइरहेको समाचारहरु सार्वजनिक भइरहँदा ग्यास लगायतका अन्य दैनिक उपभोग्य सामाग्रीको अभाव हुन शुरु भएको हो । तर सरकारले भने विदेशबाट आपूर्ति सहज रुपमा भइरहेको भन्दै नआत्तिन र चाहिने भन्दा धेरै वस्तुको भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले दैनिक उपभोग्य सामाग्रीहरुको सहज आपूर्ती भइरहेको भन्दै नआत्तिन उपभोक्ताहरुलाई आग्रह गरे । उनले ग्यास, पेट्रोलियम पदार्थ र अन्य उपभोग्य सामाग्रीहरुको कृतिम अभाव सिर्जना गर्न खोज्ने व्यापारीमाथि कारवाही गरिने बताए ।

कसैले ग्यास लुकाएको थाहा पाए वा नदिएको खण्डमा सूचना दिन पनि उनले आग्रह गरे । व्यापारीले ग्यास नदिए वा लुकाए फोन नम्बर ११३७ मा सम्पर्क गर्न उनले आग्रह गरे । आजै बसेको संसद बैठकमा पनि सांसदहरुले बजारमा कोरोना भाइसर संक्रमणको नाममा कलोबजारी भइरहेको भन्दै अनुगमन रोक्न र आपूर्ति व्यवस्थालाई सहज बनाउन आग्रह गरेका थिए ।

विशेष