News

प्रि–मनसुन लागेयताकै आज ठूलो वर्षाको सम्भावना

प्रि–मनसुन लागेयताकै आज ठूलो वर्षाको सम्भावना

काठमाडौंः हावाहुरी, चट्याङ र असिनासहित शुक्रबार प्रि–मनसुन लागेयताकै ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुमा पश्चिमी वायुसमेत मिसिएकाले आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । साथै हावाहुरी आउने, चट्याङ र असिना पर्ने सम्भावना पनि उत्तिकै रहेको उनले बताइन्।

‘यो प्रि–मनसुनका बेला खासगरी स्थानीय वायुको प्रभावले मौसम बदली हुन्छ, तर पश्चिमी वायुसमेत मिसिँदा मौसमी प्रणाली अलि शक्तिशाली हुन्छ,’ मौसमविद् नगरकोटीले भनिन्, ‘यसकारण आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको हो।’

महाशाखाका अनुसार विशेषगरी पश्चिमी क्षेत्रमा हावाहुरी–चट्याङ र असिनासहितको वर्षा हुने सम्भावना तर मध्य र पूर्वी क्षेत्रमा पनि यसको थोरै सम्भावना छ । पश्चिमदेखि पूर्वसम्मकै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपात हुने सम्भावनासमेत रहेको मौसमविदले बताएका छन् । मौसमविद् नगरकोटीका अनुसार प्रि–मनसुनको वर्षा क्षणिक हुनुपर्ने भए पनि पटकपटक भइरहने भएकाले यसपटक अलि लामै समय वर्षा हुने देखिएको छ । 

यसैगरी वर्षाका साथमा आज हावाहुरी पनि आउने प्रबल सम्भावना रहेकाले आवश्यक होसियारी अपनाउन उनको सुझाव छ।
  

चट्याङ असिना प्रि–मनसुन

विशेष