संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोयारको निधन
संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव एवं पेरुका पूर्वप्रधानमन्त्री ह्याभिर पेरेज द कोयारको निधन भएको छ ।
उनको लिमास्थित आफ्नै निवासमा १ सय वर्षको उमेरमा निधन भएको हो । दुई कार्यकाल राष्ट्रसंघको महासचिव भएका उनले दक्षिण अमेरिका, अफ्रिका, एसिया र मध्यपूर्वका देशमा शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
सन् १९८१ मा उनी पाँचौं महासचिव नियुक्त भएका थिए । दक्षिण अमेरिकी क्षेत्रबाट उनी पहिलो महासचिव बनेका थिए। उनकै कार्यकालमा इरान र इराकबीच सन् १९८८ मा युद्धविराम भएको थियो। राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसले कोयारको निधनको खबरबाट आफू अत्यन्त दुःखि भएको बताए।
पेरुका राष्ट्रपति मार्तिन भिसकाराले ट्वीट गर्दै कोयार लोकतन्त्रवादी रहेको र उनको प्रतिभाका कारण पेरु विश्वभर चिनिएको बताएका छन्। एजेन्सी
ह्याभिर पेरेज द कोयार