News

उखु किसानले भुक्तानी रकम पाउन थाले

उखु किसानले भुक्तानी रकम पाउन थाले

सर्लाही । इन्दुशङ्कर चिनी उद्योग लिमिटेडले क्रसिङका बेला किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ ।

गत पुस ११ गतेदेखि सञ्चालनमा आएको उद्योगले हालसम्म ५० करोड रुपैया भुक्तानी गरेको उद्योगका प्रबन्धक योगनारायण रजकले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा गत पुस ११ देखि माघ १० गतेसम्म किसानबाट खरिद गरेको उखुको भुक्तानी गरिएको हो । जिल्लाकै सबैभन्दा ठूलो चिनी उद्योग इन्दुशङ्करले हालसम्म २४ लाख ४८ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगले जनाएको छ ।

उद्योगले यस वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिए पनि पर्याप्त उखु नआएकाले लक्ष्य पूरा नहुने देखिएको प्रशासकीय अधिकृत ठाकुरप्रसाद नेपालले बताए । किसानबाट अघिल्ला वर्षमा खरिद गरेको उखुको भुक्तानी दिन नसकेको अन्नपूर्ण चिनी उद्योग धनकौल भने अहिले पनि बन्द अवस्थामा छ ।

नेपाल सरकारले दिने अनुदान बापतको ६५ रुपैया २८ पैसाका दरले उखु किसानले पाउनुपर्ने रकम कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाइसकेको छ ।

 

उखु किसान भुक्तानी रकम

विशेष