News

कालापानीवासीलाई सुनकोशीको पानी

कालापानीवासीलाई सुनकोशीको पानी

खोटाङः खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित कालापानीका स्थानीय उपभोक्तालाई सुनकोशी नदीको पानी तानेर वितरण गरिएको छ । लामो समयदेखि घण्टौँ टाढा रहेको कुवा तथा खोलाबाट बोकेर ल्याएको पानी उपभोग गर्दै आएका कालापानीका ११५ घर स्थानीयवासीका लागि सुनकोशी नदीबाट पम्पिङ प्रविधि अपनाएर निकालिएको पानी वितरण गरिएको हो ।

वि.सं २०७२ चैत ११ गते शिलान्यास गरिएको रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम पूरा भएसँगै नदीको पानी तानेर गाउँमा वितरण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताउनुभयो । नेपाल सरकार खानेपानी तथा सरसफाइ मन्त्रालयको अनुदान तथा उपभोक्ताको रु ३६ लाख बराबरको श्रमदान गरी रु एक करोड ८० लाख लागतमा आयोजनाको काम सम्पन्न गरिएको हो ।

सुनकोशीस्थित रसुवाघाटबाट पम्पिङ प्रविधि अपनाएर निकालिएको पानी ९७ धारामार्फत कालापानीका स्थानीयवासीलाई वितरण गर्ने भनिए पनि ६१ मात्र धारा निर्माण गरिएको छ । परीक्षणका क्रममा रहेको खानेपानी आयोजना केही समयपछि औपचारिकरूपमा उद्घाटन गरिने निर्माण उपभोक्ता समितिले जनाएको छ ।

गत भदौ ५ गते परीक्षणस्वरुप गाउँमा पानी तानिएको खानेपानी आयोजना पुस २४ गतेदेखि निरन्तर सञ्चालन ल्याइएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राउतले बताए  ।

पम्पिङ प्रविधिको खानेपानी आयोजनाका लागि नदी र गाउँको बीचमा दुई आरभिटी ट्याङकी तथा सबैभन्दा माथि कालापानी गाउँमा ३० हजार लिटरको आरसिसी ट्याङ्की निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । आयोजनाका लागि २५ केभीको तीन विद्युत् ट्रान्सफर्मर जडान गरिएको जनाइएको छ ।

आयोजनाका लागि रसुवाघाटस्थित सुनकोशी नदी किनारमा मेसिन राख्ने घर निर्माण गरेर पानी तान्ने मेसिन जडान गरिएको छ । सो बोरिङस्थलबाट विद्युत्को सहायतामा ५० एमएमको ६०० मिटर लामो जिआइ पाइपमार्फत पानी तानिएको छ । नदी किनारमा निर्माण गरिएका पम्पिङ हाउसको झ्याल तथा ढोका हाल्ने, घेराबार लगाउनेबाहेक अन्य सबै काम सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ओखलढुङ्गा–२ नं डिभिजन प्रमुख विजय ठाकुरले बताए । 

छिमेकी वडा इन्द्रेणीपोखरीबाट ल्याइएको पानीको मुहान सुकेपछि कालापानीका स्थानीयवासी घण्टौँ हिँडेर पानीको जोहो गर्न बाध्य थिए । गाउँ र नदीबीचमा निर्माण गरिएको पहिलो र दोस्रो सप्लाइ ट्याङ्की हुँदै सबैभन्दा माथि निर्माण गरिएको मूल ट्याङ्कीमा पानी जम्मा गरेर ९७ धारामार्फत ११५ घरका ५०० भन्दा बढी उपभोक्तालाई खानेपानी वितरण गर्ने लक्ष्य साथ आयोजनाको काम थालिएको हो ।

खानेपानी समस्या चर्किएपछि कालापानीमा पम्पिङ प्रविधिमार्फत सुनकोशीको पानी तानेर वितरण गर्ने विकल्प अघि सारिएको थियो । कालापानीका स्थानीयवासी यसअघि चुहार पँधेरा, मानेखोला पँधेरा र खारखोला पँधेराबाट गाग्रो तथा भाँडामा बोकेर ल्याएको खानेपानी उपभोग गर्न बाध्य थिए । सुक्खाग्रस्त क्षेत्र कालापानीमा खानेपानीको व्यवस्था गर्न सुनकोशीबाहेक अन्य कुनै पनि पानीको स्रोत थिएन । पम्पिङ प्रविधि अपनाएर सुनकोशी नदीको रसुवाघाटबाट करीब एक हजार ८०० मिटरमाथि रहेको कालापानी गाउँमा पानी निकालिएको हो । रासस 
 

खोटाङ कालापानी सुनकोशी नदी पानी

विशेष