श्रीमतीको हत्या कसुरमा २० वर्ष कैद, एक लाख रुपैयाँ क्षतिपूर्ति
दैलेखः दैलेख जिल्ला अदालतले श्रीमतीको हत्या गरेको कसुरमा श्रीमानलाई २० वर्ष कैद र एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ । २३ वर्षीया श्रीमती रत्ना रावतको हत्या गरेको कसुरमा सुर्खेतको लेकबेसी नगरपालिका–८ साटाखानीका ३० वर्षीय नवलसिंह बिरकट्टालाई अदालतले २० वर्ष कैद र एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको हो ।
अदालतका सूचना अधिकारी विनोद आचार्यका अनुसार जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले बिहीबार हत्या कसुरमा फैसला गरेको हो । हत्या गरिएकी रत्नाकी नजिकका आफन्तले क्षतिपूर्ति रकम पाउने आचार्यले बताए ।
चार वर्षअघि माइती गाउँ चामुण्डाका स्थानीय युवासँग विवाह गरी भारतको गढवाल पुगेकी थिइन् । रत्नालाई उनको अघिल्लो पतिसँगै मजदुरी गर्ने नवलसिंहले त्यहाँबाट भगाएर सिमलामा पुर्याए र गएको जेठको पहिलो हप्तामात्र सुर्खेतको साटाखानी पुर्याएका थिए ।
विवाह भएको तेस्रो वर्षमै दोस्रो श्रीमती भित्र्याएपछि ‘दम्पतीबीच असमझदारी बढ्दै गरेको थियो’ रत्नाका दाजु पूर्णबहादुर रावतले सुनाए । रत्ना निःसन्तान थिइन्।
चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पिङडाँडामा रहेको माईतीघर आएको तेस्रो दिन २०७६ जेठ ९ गते गोठाला गएको मौका पारी नगरपालिकाको वडा नम्बर १ काफलगैरामा नवलसिंहले रत्नाको हत्या गरेको प्रहरी अनुसन्धान र घटनाप्रकृतिले पुष्टि गरेको अदालतको फैसलामा उल्लेख छ ।