News

'६ महिना पुग्ने औषधी नेपालमै छ'

'६ महिना पुग्ने औषधी नेपालमै छ'

काठमाडौं । नेपालमा ६ महिनासम्म औषधि अभाव नहुने नेपाल औषधी उत्पादक संघले जनाएकाे छ। शुक्रबार पत्रकार सम्मेलन गरी संघले नेपालका ६२ कम्पनीले उत्पादन गरेको औषधिले ६ महिनाको माग थेग्न सक्ने सञ्चार माध्यमलाइ  जानकारी दिएको छ ।

भारतले सिटामोलसहित २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि औषधी अभाव हुन सक्ने समाचारहरु सार्वजनिक भएको थियो । तर संघले अत्यावश्यक औषधीका लागि विदेशी कम्पनीलाई अनुनय विनय गर्नुपर्ने अवस्था नरहेको बताएको हो ।

संघले कच्चा पदार्थ पनि धेरै रहेकाले औषधी अभाव हुन्छ भनेर आत्तिनु नपर्ने संघका महासचिव विप्लवबहादुर अधिकारीले जानकारी दिए ।

‘अहिले सरकारले विदेशी कम्पनीसँग हार गुहार गर्ने होइन, स्वदेशी औषधी उत्पादकलाई प्रोत्साहन गर्ने होइन’ महासचिव श्रेष्ठले भने ‘अहिले नेपालमा चाहिने ७५ प्रतिशत औषधी यहीँ उत्पादन भइरहेको छ, सरकारले प्रोत्साहन गरेमा सय प्रतिशत नै औषधी उत्पादन गर्न सक्छौं ।’ सिटामोलको कच्चा पदार्थ त जनवरी र फेब्रुअरीमा धेरै आयात भएको भन्दै स‌ंघले नेपालमा अभाव नै नहुने जानकारी गराएको छ ।

 

औषधि उत्पादकहरुले नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने प्रयत्न गरिरहे पनि सरकारले नीतिगत व्यवस्था गर्न नसकेको पनि संघले गुनासो गरेको छ । सरकारले औषधि आपूर्तिका लागि अन्य देशसँग हार–गुहार गर्नुभन्दा आफ्नै देशका उद्योगीसँग सहकार्य गर्न संघले आग्रह गरेको छ ।

 

विशेष