काठमाडौंसहित देशका धेरै स्थानमा वर्षा, आज पनि चट्याङसहित हावाहुरीको सम्भावना
काठमाडौंः आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भइरहेको छ । पश्चिमका तराई भू–भाग बाहेक देशका बाँकी सबै स्थानमा गड्यागुडुङसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।
‘आज दिनभर नै मौसम यस्तै रहने देखिन्छ,’ मौसमविद् श्रेष्ठले भने, ‘पानी नै परिरहन्छ भन्ने छैन, तर मौसम दिनभर खुल्दैन।’
काठमाडौं उपत्यकामा शनिबार बिहान साढे ४ बजेदेखि र पश्चिमी तथा पूर्वी क्षेत्रमा शुक्रबार रातिदेखि नै पानी परिरहेको महाशाखाले जनाएको छ ।
अहिले वर्षा भइरहेको काठमाडौं उपत्यकालगायतका स्थानमा केही समयपछि पानी पर्न रोकिए पनि मध्याह्नपछि पुनः वर्षा हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए।
अहिले नेपालको मौसममा स्थानीय वायुका साथै पश्चिमी वायुको समेत प्रभाव परेको छ। ‘सामान्यतया प्रि-मनसुनका बेला पश्चिमी वायु नआउनुपर्ने हो तर अहिले आइरहेको छ, त्यसकारण यसले हावाहुरी, चट्याङ र असिनाको सम्भावना बढाउँछ,’ उनले भने।
उनका अनुसार मौसम पूर्वानुमान महाशाखाको भू–उपग्रहको तस्बिरले हिजो राति पश्चिम र पूर्वी पहाडमा वर्षाका साथै चट्याङ परेको देखाएको छ। तर हावाहुरीको रिपोर्ट अहिलेसम्म प्राप्त भएको छैन।
उनका अनुसार आज पनि असिना पानी, चट्याङ, हावाहुरीको सम्भावना छ। यस्तै आज देशभरका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए ।
आइतबारबाट भने मौसम सुध्रिने सम्भावना छ। आकाशमा बादल देखिए पनि भोलि वर्षाको सम्भावना नरहेको मौसमविदले बताएका छन् ।