काठमाडौंमै विद्यार्थीमाथि अमानविय यातना, कम नम्बर ल्याउने ३४ विद्यार्थीको ब्लेडले हात चिरियो!
काठमाडौंः परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन्। हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन्।
१२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन्। राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षाकै वेला धम्की दिएकी थिइन्। धम्कीअनुसार नै उनले राम्रो नम्बर ल्याउन नसकेका विद्यार्थीलाई बिहीबार बेन्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्लेडले हात चिर्न लगाएको पीडित विद्यार्थीले बताए ।
निर्देशन नमाने आफैँ चिरिदिने धम्की दिएपछि आ–आफ्नो हात काटेको विद्यार्थीले बताएका छन्। पीडित विद्यार्थीका अनुसार परीक्षाको फुलमाक्स २० निर्धारण गरिएको थियो । पासमाक्स भने ८ तोकिएको थियो । शिक्षिकाले १५ भन्दा कम ल्याउने सबैको हात काट्न लगाएकी हुन् । सबैभन्दा कम नम्बर ल्याउने विद्यार्थीको हात सबैभन्दा बढी काटिएको छ । १५ नम्बर आसपास ल्याउनेको भने कम काटिएको छ।
एकेडेमीका प्रधानाध्यापक राजनकुमार श्रेष्ठका छोरा आर्यको हातमा पनि एकपटक चिरिएको छ। ६ कक्षामा अध्ययनरत उनको १३.५ नम्बर आएको थियो । ‘मेरो माक्स अरूको भन्दा अलि धेरै आयो । त्यसैले एक ठाउँमा मात्रै काटियो,’ उनले भने। प्रअ श्रेष्ठले कक्षा ६ मा अध्ययनरत २५ र सातमा अध्ययनरत नौ विद्यार्थीको नाडी चिरिएको स्वीकार गरे। ‘केही दिनअघि क्लास टेस्ट थियो । यसक्रममा नम्बर कम ल्याउने विद्यार्थीको हात काटिएको देखियो ।
सोसल साइन्स पढाउने शिक्षिकाबाट यस्तो काम भएको देखिएको छ । यो गम्भीर गल्ती हो । अब के गर्ने भन्ने विषयमा हामी अध्ययन गर्दै छौँ,’ श्रेष्ठले भने। शिक्षिका कर्माचार्यले बालबालिकालाई हात चिर्न लगाएपछि घाउमा नुनखुर्सानीसमेत दल्न भन्दै फोन गरेको अभिभावकको आरोप छ। कक्षा ६ मा अध्ययनरत आकृति रेग्मीकी आमा उमा रेग्मीले भनिन्, ‘म्यामले फोन गर्नुभएको थियो । नम्बर कम ल्याएकाले मैले छोरीको हात काट्न लगाएको छु । उनलाई नुनखुर्सानी लगाउने हो । छोरीलाई त्यही भन्नुहोला ।’
मैले गल्ति गरेँ, माफी चाहन्छु : शिक्षिका
विद्यार्थीलाई अलिअलि डर त देखाउनै पर्यो । मैले कम नम्बर ल्याए काट्न लगाउँछु भनेकै हो । तर, काटिहाल्ने भनेको थिइनँ, विद्यार्थी एक स्टेप अघि बढेर धमाधम काटेछन् । जे भयो, मबाट ठूलो गल्ती भयो । मैले भन्नै नहुने थियो । एकपटकलाई माफी चाहन्छु। याे खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।
ब्लेड जागृति एकेडेमी