हुम्लामा फेरि भारी हिमपात
सिमकोटः हुम्लामा पुनः भारी हिमपात भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँचमा झरेको छ ।
जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । शुक्रबार बिहान मौसम सफा भएर घाम लागेको भए पनि दिउँसोबाट मौसममा एक्कासि परिवर्तन हुँदा हिमपात शुरु भएको हो ।
मौसममा आएको बदलीसँगै एक्कासि बाक्लो हिमपात शुरु भएर जमिनमा बाक्लो हिउँ जमेको छ । जिल्लामा हिमपात हुँदा जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् । हिमपातले हुम्लाको जनजिवन कष्टकर बनाएको छ ।
स्याउ, ओखर, आरुलगायतका बिरुवा यहाँका किसानले लगाउन थालेका छन् भने यस पटक परेको हिमपातले किसानलाई राहत मिल्ने भएको सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले बताए । यो पटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गँहु, जौलाई फाइदा हुने हुँदा कृषक उत्साहित भएका छन् ।
हुम्ला हिमपात