जुम्ल्याहा दाजुभाई ब्रिटिस गोर्खा सैनिकमा भर्ती

काठमाडौंः भोजपुरको ट्याम्के मैयुङ गाउँपालिका–८ गोगनेका यी दाजुभाइ एकसाथ ब्रिटिस गोर्खा सैनिकमा भर्ती भएका छन् । पोखरामा हालैको छनोट चरण पार गर्दै उनीहरू गोर्खा सैनिकमा भर्ती भएका हुन् ।
दाजु धैर्यशील बीबीए सातौं सेमेस्टरमा र क्रियाशील राई बीबीएस दोस्रो वर्षमा पढ्दै थिए । उनीहरूका बुबा शिवकुमार भने छोराहरूलाई नेपाल सरकारको अधिकृत भएको देख्न चाहन्थे । ‘छोराहरू भर्ती भएर जाऊन् भन्ने लागेको थिएन तर दबाब दिइनँ । उनीहरूले आफ्नो इच्छा पूरा गरेका छन्, त्यसैमा खुसी लागेको छ,’ उनले भने ।
आफ्ना दाइ परिवारसहित बेलायतमै रहेकाले पनि छोराहरूलाई नरोकेको शिवकुमारले बताए । २१ वर्षीय जुम्ल्याहा दाजुभाइले राजधानीको क्लासरूम एकेडेमीबाट प्रशिक्षण लिएका थिए ।
ब्रिटिस गोर्खा सैनिकमा यस पटक ५४ जिल्लाका २३ जातजातिका ४ सय ३२ युवा भर्ती भएका छन् । जानकारका अनुसार यो संख्या र प्रतिनिधित्व अहिलेसम्मकै बढी हो ।
भोजपुर ब्रिटिस गोर्खा सैनिक क्रियाशील राई धैर्यशील राई