मेड इन चाइना काेराेना भाइरसले नेपालमा बढ्याे कालाेबजारी

मेड इन चाइना काेराेना भाइरसले नेपालमा बढ्याे कालाेबजारी

काठमाडाैँ – चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे नाेबेल काेराेना भाइरस (काेभिड–१९)ले नेपालमा कालाेबजारीकाे अवस्था निम्त्याएकाे छ। पछिल्लाे केही दिनदेखि ग्यास बिक्री डिपो लगातय दैनिक उपभाेग गर्ने सामानकाे लागि ठाउँ ठाउँकाे खुद्रादेखि साेलसेल पसलमा उपभोक्ताको भीड बढेको छ। 

नेपालमा मासिक करिब ३५ हजार टन ग्यास खपत हुन्छ। ‘मासिक ४० हजार टन ग्यास भारतबाट आयात भइरहेको छ,’ नेपाल आयल निगमले प्रस्ट रूपमा भनेको छ, ‘आयात रोकिएर अभाव हुने कुनै सम्भावना छैन।’ तर निगमको भनाइप्रति विश्वास गर्नुको सट्टा उपभोक्ता भारतबाट ग्यास आयात कम होला र चुलो बाल्न हम्मे पर्ला भन्दै घरमा सिलिन्डर थुपार्न थालेका छन्। यसले गर्दा ग्याँस लगायत दैनिक उपभाेग्य वस्तुमा कालोबजारी बढेकाे छ। भारतबाट आयात हुने कुनै पनि दैनिक उपभाेग्य सामानमा राेक टाेक नलगाइएकाे भन्सार विभागले जनाएकाे छ।

फेब्रुअरी र मार्च महिनामा एकीकृत जाँच भन्सार बिन्दु (आईसीपी) भएर नेपाल अाउने ट्रकको संख्यामा पनि कुनै भिन्नता नरहेकाे भन्सार विभागले जनाएकाे छ।

भन्सार विभागका एक कर्मचारीका अनुसार अहिले व्यापारीहरूले सामानकाे कृतिम अभावकाे वातावरण बनाइरहेका छन्। ती कर्मचारीले भने,' भारतबाट आयात हुने कुनै पनि दैनिक उपभाेग्य सामानमा त्यहाँकाे सरकारले कुनै पनि प्रकारकाे राेक लगाएकाे छैन्।' भन्सार विभागका अनुसार सामान आयातमा कुनै पनि कमी आएकाे छैन्। 

अर्थशास्त्रको सिद्धान्तअनुसार माग र आपूर्तिमा आएको असन्तुलनले बजारमा प्रभाव पार्छ। तर कहिले व्यापारीको मिलेमतोको सिकार भएर त कहिले हल्लाको पछि लागेर उपभोक्ता दैनिक उपभोग्य सामग्री घरमा थुपार्न थाल्छन्। त्यही बहानामा कालोबजारी मौलाउँछ। त्यस्तो अवस्थामा एकातिर उपभोक्ता ठगिन्छन् त अर्कातिर व्यापारीले फाइदा उठाउँछन्। ग्यास पछिल्लो उदाहरण मात्र हो।

विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा देखिएको छैन। तर पूर्वसतर्कता अपनाउन अनुरोध गर्दै चिकित्सकले मास्क लगाउन भनेका छन्। सोही मौका छोपेर बिक्रेताले मास्क, सेनिटाइजर, पन्जाको मूल्यवृद्धि र कालोबजारी गरिरहेका छन्। १० रुपैयाँ मूल्य पर्ने मास्कलाई ३० र ८० रुपैयाँ पर्ने मास्कलाई चार सय ५० रुपैयाँसम्म लिने गरेको पाइएको छ। 

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना भन्छन् ‘व्यापारीले छिट्टै धेरै नाफा कमाउने बहाना खोजिरहेका हुन्छन्। अहिले कोरोनाको बहानामा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने काम सुरु भएको छ।’

खरिद महँगो भएपछि धेरै मूल्यमा बिक्री गर्नु स्वाभाविक भए पनि माग बढ्नासाथ व्यापारीहरू दोब्बर÷तेब्बर मूल्य लिएर सामान बिक्री गर्न थाल्छन्। कुनै वस्तुको बजार माग बढेपछि सामान अभाव भएको बहाना बनाएर उनीहरू चर्को मूल्य लिएर सामान बेच्न उद्यत हुन्छन्। बजारमा अनावश्यक हल्ला चलाएर कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए। ‘व्यापारीले छिट्टै धेरै नाफा कमाउने बहाना खोजिरहेका हुन्छन्,’ उनले भने, ‘अहिले कोरोनाको बहानामा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने काम सुरु भएको छ।’

कोरोनाको बहानामा फेरि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरेर कालोबजारी हुन सक्ने संकेत पाएको सरकारले तीन महिनालाई पुग्ने खाद्यान्न, औषधि रहेको प्रस्टीकरण दिएको छ। दैनिक उपभोग्य वस्तुमा खरिद मूल्यको २० प्रतिशतभन्दा बढी नाफा राखे कालोजबारी ठहरिने भए पनि मनपरी ढंगले मूल्य बढाएर बिक्री गर्ने परिपाटी हटेको छैन।

सरकारले कालोबजारी गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रयास गर्दै आए पनि पूर्ण रूपमा सफलता हात पार्न सकेको छैन। बजारमा सामानको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी सुरु भएपछि नेपाल उद्योग वाणिज्य महासंघले बिक्री तथा वितरण प्रणाली पारदर्शी बनाउन आग्रह गरेको छ। कोरोना भाइरसको सन्त्रासले उपभोक्ता आत्तिएर सामान स्टक गर्न थालेपछि अत्यावश्यक वस्तु मास्क, औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थको व्यवस्थापन, बिक्री–वितरण र ढुवानी पारदर्शी गर्न र संयमित तथा जिम्मेवार बन्न संघले आग्रह गरेका हो। बजारमा औषधिको अभाव र मूल्यवृद्धि हुन नदिने नेपाल औषधि उत्पादक संघले जनाएको छ।

संम्बधित खबर

विशेष