पाकिस्तानमा पनि देखियाे काेराेनाकाे संक्रमित, महामारीकाे रूप उच्च सम्भावना
काठमाडाैँ । चाँडै कोरोना भाइरसको प्रकोप पाकिस्तानमा पनि देखा पर्न सक्छ । गत बुधबार पाकिस्तनको संघीय स्वास्थ्य मन्त्रालयले मुलुकमा दुई जनामा कोभिड–१९ रोग लागेको पुष्टि गर्यो । कराँची र इस्लामावाद शहरमा दुई संक्रमित देखा परेपछि अधिकारीले मुलुकका विभिन्न क्षेत्रका विद्यालय बन्द गरे ।
पछिल्ला केही सातायता मुलुकका स्वास्थ्य अधिकारीहरु यसलाई लिएर उच्च सतर्कता अपनाइरहेका छन् । उदाहरणका लागि पाकिस्तानले ६ हजार भन्दा धेरै जनामा संक्रमणको पुष्टि भएको छिमेकी मुलुक इरानसँगको सीमा बन्द गरेको छ भने अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुमा यसको संक्रमण पनि जाँच गरिरहेको छ ।
अहिले भने पाकिस्तानमै अत्यन्त तीब्र दरमा संक्रमण भइरहेको यो भाइरस देखा परेपछि भने अधिकारीहरुले आफ्नो प्रयासलाई बढाउनु पर्ने देखिएको छ, जुन आफैैँमा ठूलो चुनौतिको रुपमा रहेको छ । सर्वप्रथम पाकिस्तानका हरेक जिल्लामा क्वारेन्टाइन र विशेष उपचार कक्षलगायतका सुविधा सहितको स्वास्थ्य केन्द्रको आवश्यकता छ । त्यस्तै, कोभिड–१९ का बिमारीको हेरचाह गर्नका लागि स्वास्थ्यकर्मीलाई यसबारे विशेष तालिम पनि दिनु पर्ने देखिन्छ ।
हाल पाकिस्तानमा केबल ५ वटा मात्र क्वारेन्टाइन सुविधा छ । यो अवश्य पनि सम्भावित स्वास्थ्य प्रकोप व्यवस्थापनका लागि पर्याप्त छैन । ग्रामिण क्षेत्रबाट सम्भावित बिमारीहरुलाई क्वारेन्टाइनमा ल्याउँदा धेरै समय लाग्ने भएका कारण कोरोना भाइरसको संक्रमण अझ फैलिने जोखिम हुन्छ ।
त्यस्तै, कोरोना भाइरसको संक्रमण परीक्षण प्रक्रिया पनि तीब्र गतिमा हुनुपर्ने आवश्यकता छ । केही प्रतिष्ठित अस्पतालहरुमा यस्ता परीक्षण सुविधा उपलब्ध गराइने हो भने राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानका लागि भार पनि कम हुन जान्छ ।
प्रधानमन्त्रीका विशेष स्वास्थ्य सल्लाहकारले भनेजस्तै अहिलेको अवस्थामा आत्तिहाल्नुपर्ने जरुरी छैन । तर वर्तमान अवस्था कति नियन्त्रणमा छ भन्ने कुरा चाहीँ मुलुकको स्वास्थ्य सेवा प्रणालीले कुन स्तरमा काम गर्छ भन्ने विषयले निर्धारण गर्नेछ ।
भाइरसको संक्रमण रोकथाम गर्न तथा मानिसहरुलाई हल्लाको पछि नलाग्न भन्नका लागि सरोकारवालाहरुले यसबारे सघन जनचेतनामूलक अभियान सञ्चालन गर्नु जरुरी छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसका कारण हालसम्म १ सय भन्दा धेरै मुलुकका १ लाख भन्दा धेरै मानिसहरु संक्रमित छन् भने अरु ३६ सय जना भन्दा धेरैले ज्यान गुमाइसकेका छन् । भाइरस शुरु भएको चीनमा संक्रमण तथा मृत्युको संख्या घट्दै गइरहेको अवस्थामा दक्षिण कोरिया इटाली जस्ता मुलुकमा यसको संक्रमण र यसबाट मृत्यु हुनेको संख्या बढ्दै जान थालेको छ ।
यस्तो अवस्थालाई सम्बोधन गर्नका लागि यहाँका अधिकारीहरुले स्वास्थ्य क्षेत्रमा उपलब्ध श्रोत र साधनको भरपूर उपयोग गर्न सक्नुपर्छ । यसको अर्थ राष्ट्रिय, प्रान्तीय र जिल्लास्तरीय — हरेक स्तरका स्वास्थ्य प्रणालीले स्पष्ट, विस्तृत एवं सर्वव्यापी रुपमा स्वीकार्य रणनीति बनाएर अघि बढ्नुपर्छ । अन्यथा यसले पोलियो जस्तै पाकिस्तानमा गम्भीर स्वास्थ्य संकट उत्पन्न गर्न सक्ने तर्फ सचेत हुनु आवश्यक छ ।