News

अस्पतालको चरम लापरवाहीः स्टिल झिक्नुपर्नेमा हड्डी काटियो!

अस्पतालको चरम लापरवाहीः स्टिल झिक्नुपर्नेमा हड्डी काटियो!

उदयपुर: ४२ वर्षीय पूर्णबहादुर खत्रीको देब्रे कुममा राखिएको स्टिल झिक्नुपर्नेमा डाक्टरले हड्डी काटेर फालेको पाइएको छ। उदयपुर गाईघाटस्थित सिभिल हस्पिटल एन्ड ट्रमा सेन्टरका अर्थोपेडिक डा. सञ्जयकुमार साहले हड्डी झिकिदिएको खत्री बताउँछन्। खोटाङको दिक्तेल रुपाकोट मझुवागडी–३ बाम्राङका खत्रीको कुममा अप्रेसन गरी स्टिल राखिएको थियो। ‘डा. साहले स्टिल त्यहीं छाडेर हड्डीको टुक्रा काटेर फ्याँकिदिएछन्’, खत्री भन्छन्, ‘अब म गरौं ? स्टिल लगाएर हात ठीक पार्न खोजेको तर डाक्टरले उल्टै हड्डी काटिदिएपछि हात पहिलेको अवस्थामा बनाउने आस मर्‍याे। यो डाक्टरको गम्भीर लापरवाही हो पूर्णरूपले उपचारको माग गर्दछु।’

दिक्तेल बजारमा २०७५ माघ ७ गते लडेर उनको देब्रे कुमको हड्डी भाँचिएको थियो। उनी जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचारपछि काठमाडौंस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेका थिए। उनले सोही अस्पतालमा स्टिल लगाएका थिए। ‘स्टिल लगाएपछि कुमको हड्डी जोडिँदै थियो। बेलामौकामा स्टिलको अवस्था बुझ्नुपर्ने भएकाले धेरैजसो समय काठमाडौंमा उपचार गराउँदै आएको थिएँ’, उनी भन्छन्, ‘दशा लागेपछि केहीले रोक्दो रहेनछ, त्यत्तिका समय काठमाडौंमा देखाएँ। बाटोमा परेकाले आफन्तले दुईपटक गाईघाटको सिभिलमा देखा भने, त्यही अभिसाप भयो।’

स्टिल र कुमको अवस्था बुझ्नका लागि एक्सरे गर्न अस्पताल जाँदा जबरजस्ती अप्रेसन गर्न लगाइएको दाबी उनी गर्छन्। बिरामीका भतिज लेखराज कटुवालका अनुसार डा. साहले सुरुमा ५५ हजार रुपैयाँ लाग्ने बताएपछि फर्किन लाग्दा अस्पतालका एक सञ्चालकले मोलमोलाई गरेका थिए। ‘२५ हजार रुपैयाँमै अप्रेसन गरिदिने भन्दै जबरजस्ती गरे’, उनी भन्छन्। आफन्तकै सल्लाहअनुसार गत कात्तिक ७ गते सिभिलमा स्टिल निकालिएको पीडित सुनाउँछन्। ‘अप्रेसन गरेर स्टिल झिकेछ भन्दै ढुक्क थिएँ। घर पुगेपछि पनि दुःख्न छोडेन’, उनी भन्छन्, ‘पहिला अप्रेसन गरेको ठाउँमा एक्सरे गरेर हेर्दा पो स्टिल निकाल्नुपर्नेमा कुमको हड्डी निकालेर फ्याँकेको थाहा भयो। छाँगाबाट झरेझैं भएँ।’

पीडितका आफन्तले डाक्टरलाई कानुनी कारबाही गर्न र बिरामीको उपचार गरिदिन माग गरेका छन्। अस्पतालले लापरवाही गरेको विषयमा पीडित पक्षले प्रहरी गुहारेको छ। अस्पतालका अध्यक्षसमेत रहेका डा. साहले बिरामीको भनाइको खण्डन गरेका गरेका छन्।

‘अप्रेसनका बेला राखिएको तारले घोटिएर हड्डी छिनेको हो’, उनी भन्छन्, ‘तीन महिना पहिला एक्सरे गर्दा ठीकै थियो। तर, अप्रेसन गर्दा तारले खाएको देखियो।’ हड्डी औजारले काटेको हो कि तारले भन्ने विज्ञसँग बुभ्mदा थाहा हुने उनको तर्क। उनका अनुसार एक्सरेले प्रस्ट तारकै कारणले चुटिएको देखाएको छ। ‘हड्डी किन काट्नु मैले ? ’, उनी भन्छन्, ‘अझ राम्रो पो गर्ने हो।’ यो खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकले छापेको छ ।

उदयपुर अस्पताल पूर्णबहादुर खत्री हड्डी

विशेष