News

३८ क्विन्टल सुन तस्करीका तीन अभियुक्त दुबईमा व्यापार गर्दै

३८ क्विन्टल सुन तस्करीका तीन अभियुक्त दुबईमा व्यापार गर्दै

काठमाडौंः ३८ क्विन्टल सुन तस्करीका तीन अभियुक्तलाई दुबईमा पक्राउ परेको डेढ वर्षसम्म पनि नेपालले झिकाउन सकेको छैन । बरु युएई प्रहरीले तारेखमा छाडिदिएका उनीहरू दुबईमै व्यापार गरिरहेका छन् । उनीहरू तस्करीका मुख्य लगानीकर्ता कृष्णगोपाल अग्रवाल, हरिशरण खड्का र रमेश उप्रेती हुन् । तीनैजनाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेपछि पक्राउ परेका थिए । दुबई प्रहरीले उनीहरूलाई तारेखमा राखे पनि नेपाल फर्काउन भने मानेको छैन । उनीहरूको दुबईमा सुन पसल, रेस्टुरेन्ट तथा ट्राभल एजेन्सीमा लगानी छ ।

सुरुमा युएई प्रहरीले पक्राउ परेकाविरुद्धको सम्पूर्ण कागजपत्र पठाउन नेपाल प्रहरीलाई आग्रह गरेको थियो । सोहीअनुसार प्रहरीले उनीहरूविरुद्धका प्रमाण पठाएको थियो । तैपनि नेपाल ‘डिपोर्ट’ गर्न मानेको छैन । स्रोतका अनुसार पछिल्लो समय उनीहरूले औपचारिक माध्यमबाट आउन आग्रह गरेका छन् । औपचारिक माध्यम भनेको सुपुर्दगी सन्धि हो । तर, नेपाल र युएईबीच यस्तो सन्धि छैन । जसकारण उनीहरूलाई नेपाल ल्याउन समस्या भएको प्रहरी अधिकारी बताउँछन् । यद्यपि प्रहरी प्रधान कार्यालयले गृह, परराष्ट्र मन्त्रालय हुँदै युएई सरकारलाई पत्राचार भने गरेको छ । 

विगतमा दुई देशका प्रहरीबीचकै समन्वयमा कतिपय अभियुक्तलाई दुबईबाट ल्याइएको छ । सुन तस्करीमै संलग्न गुप्तलाल भुसाल, बेनु श्रेष्ठ, राजन पन्तलगायतलाई दुबईबाट पक्राउ गरी ल्याइएको थियो । त्यतिवेला केही महिनापछि नै युएई प्रहरीले निष्कासन गरिदिएको थियो । 

क्यानडा र अमेरिकाले पनि बुझाएनन् अभियुक्त 

दुबई मात्र होइन, अन्य देशबाट अभियुक्त ल्याउन पनि नेपाल प्रहरीलाई समस्या छ । मानव तस्करीमा इन्टरपोलले रेड नोटिस जारी गरेका सुदर्शन गौतम क्यानडामा व्यापार गरेर बसिरहेका छन् । क्यानडा प्रहरीले उनलाई फर्काउन मानेको छैन । दुई देशबीच कानुनी सहायता तथा सुपुर्दगी सन्धि नभएकाले नै पठाउन नमानेको प्रहरी अधिकारीहरू बताउँछन् ।

अमेरिका पठाउने भन्दै उनले नेपाली युवायुवतीको तस्करी गरेका थिए । गौतमले पठाएकी एक युवतीको समुद्रमै मृत्यु भएको थियो । अलपत्र परेकाहरू स्वदेश फर्किएपछि उजुरी गरेका थिए । फिल्मसमेत बनाएका गौतमसँग क्यानेडियन पासपोर्ट भएकाले नेपाल फर्काउन क्यानडा सरकारले नमानेको हो । 

त्यस्तै, बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भएका पवनजंग कार्की अमेरिकामा डिपार्टमेन्ट स्टोर चलाएर बसेका छन् । उनलाई नेपाल ल्याउने वर्षौँको प्रयास सफल हुन सकेको छैन । क्यापिटल मर्चेन्ट फाइनान्समा करोडौँ अनियमितता गरी उनी अमेरिका भागेका थिए । सो अनियमिततामा नक्कली ऋणीहरू जेलमा छन्, तर कार्कीलाई कानुनी दायरामा ल्याउनै सकिएको छैन । 

पाँच महिनाअघि बलात्कार र हत्या मुद्दामा फरार लीलाराज गौतमलाई भने अमेरिकाको एफबिआईको सहयोगमा नेपाल ल्याइएको थियो । त्यसरी अमेरिकाबाट अभियुक्त ल्याइएको पहिलोपटक हो । गौतमको हकमा एफबिआईले सहयोग गरे पनि कार्कीको हकमा भने सहयोग गरेको छैन । त्यस्तै, वैदेशिक रोजगार ठगीमा फरार गोविन्द तिवारीलाई पनि एक वर्षसम्म नेपाल ल्याउन सकिएको छैन । इन्टरपोलले रेड नोटिस जारी गर्दा उनी जापानमा थिए । लगत्तै उनी त्यहाँबाट भागेको सूचना प्रहरीले पाएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

दुबई रमेश उप्रेती ३८ क्विन्टल सुन कृष्णगोपाल अग्रवाल हरिशरण खड्का

विशेष