लकडाउन चाँडै हटाउँदा घातक हुने : डब्ल्यूएचओ
विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोस अदानोम घेब्रेयेससले लकडाउनका उपायहरु चाँडै हटाउँदा घातक हुने चेतावनी दिएका छन् ।
जेनेभा भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै उनले प्रतिबन्धहरु खुलुको बनाउने रणनीतिबारे विभिन्न मुलुकसंग छलफल भैरहे पनि यो छिटो हटाउन नहुनेमा जोड दिए ।
डब्ल्यूएचओ प्रमुख टेड्रोसले कोरोनाका कारण चर्को आर्थिक मार खेपिरहेका मुलुकहरुले पनि प्रतिबन्धहरु खुकुलो गर्नेबारे सतर्क हुनु पर्ने बताए ।
केही यूरोपेली मुलुकहरुमा महामारीको गति केही घटेपनि अरु मुलुकमा तीब्र गतिमा फैलिएको भन्दै सचेत रहनु पर्नेमा जोड दिए ।
पछिल्लो समय अफ्रिकाको ग्रामिण क्षेत्रमा महामारी फैलिरहेको छ । यता यूरोपमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकहरु स्पेन र इटालीमा प्रतिबन्ध केही खुकुलो पारेपनि लकडाउन भने जारी छ ।
स्पेनमा केही निर्माण र उत्पादन क्षेत्रका कामदारलाई सोमबारबाट काममा फर्काउने तयारी गरिएको छ ।
तर सामाजिक दूरी कायमै राख्न सचेत गराइएको छ । स्पेनमा पछिल्लो १७ दिनमा कोरोनाका कारण दैनिक मृत्यु हुनेको संख्या ६ सयमा सिमित भएको छ ।