News
लकडाउनलाई कडा बनाउँदै स्थानीयवासी
दमौली, कोभिड–१९ को जोखिम नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनलाई तनहुँ जिल्लाका स्थानीयवासीले कडाईका साथ लागु गरेका छन् । लकडाउनको समयमा ग्रामीण भेगमा सर्वसाधारणको चहलपहल बढ्न थालेपछि उनीहरु आफै लकडाउनलाई कडा बनाउन लागिपरेका हुन् ।
ग्रामीण भेगमा आवतजावत रोक्नलाई प्रवेशद्वारका पक्की पुल, झोलुङ्गे, सडकमा बाँस र ढुङ्गामुढा राखेर सडक अवरुद्ध पारिएको छ । भीमाद नगरपालिकाको प्रवेशद्वारमा रहेको सेती नदीमाथिको पक्की पुलमा बाँस तेस्र्याएर सवारीसँगै मानिसको आवातजावत रोकिएको छ । उक्त ठाउँमा प्रहरी, नगरप्रहरी र स्थानीयवासीले निगरानी बढाएका छन् । अत्यावश्यक सवारीमात्र सञ्चालन गर्न अनुमति दिइएको छ ।
बिरामी बोकेका एम्बुलेन्स, खाद्यान्नका सामग्री ढुवानी सवारी मात्र भीमाद प्रवेश गर्न दिइएको इलाका प्रहरी कायालय भीमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकामा बजार क्षेत्रमा मात्रै नभई ग्रामीण भेगमा पनि कडाई गरिएको छ ।
भीमाद नगरपालिका–१ उग्दीटोलका स्थानीयवासीले ‘अनावश्यक आवतजावत रोकाँै, कोरोनाबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ’ लेखिएको सूचनासहित बाँसको तगारो राखेर बाटो अवरुद्ध गरेका छन् । उक्त सूचनामा वडा सदस्य, टोल विकास संस्थाका प्रतिनिधिको नम्बर राखिएको छ । आवश्यक परेको बेलामा उक्त नम्बरमा फोन गरेर गाउँमा प्रवेश गर्न पाउने वडा सदस्य टेकबहादुर थापाले जानकारी दिनुभयो ।
शुक्लागण्डकी नगरपालिका–८ समावेशी टोलका युवाले पनि सङ्क्रमण फैलने जोखिमलाई मध्यनजर गर्दै बाटोमा बाँस तेस्र्याएका छन् । गाउँका प्रत्येक घरमा पुगेर कोरोनाका लक्षण, यसबाट बच्ने उपायबारे जनचेतना फैलाउने काम पनि गरिएको स्थानीयवासी प्रकाश विकले जानकारी दिनुभयो । ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका विभिन्न गाउँ पुग्ने सडकमा स्थानीयवासीले रुख ढालेर सडक अवरुद्ध पारेका छन् । (रासस)