–नारायण अधिकारी
चितवन, २ वैशाख (रासस) ः नारायणगढमा रहेको हंश बहुउद्देश्यीय सहकारी संस्थाले आफैँले उत्पादन गरेको जैविक कृषिउपज ग्राहकको घरघरै पु¥याउन थालेको छ । लकडाउनका कारण सर्वसाधारण घरबाट निस्कन नसक्ने भएपछि सहकारीले तरकारी तथा खाद्यान्नका वस्तु घरघरमै पु¥याएर सेवा दिएको हो ।
सहकारीका अध्यक्ष दिनेशकुमार चुकेले भन्नुभयो, “ग्राहकको माग भएको ठाउँमा हामीले घरमै तरकारी पठाएका छौँ ।” उहाँले थप्नुभयो, “यो असहज परिस्थितिमा सर्वसाधारण घरबाट बाहिरै निस्कन नसक्ने अवस्थामा तरकारी तथा खाद्यान्नको सेवा दिनुपर्ने सहकारीको दायित्व सम्झेर नै यो कार्य शुरु गरिएको हो ।”
मौसमी तरकारी अहिले सहकारीले उत्पादन गरेको छ । सहकारीले दिएको जानकारीअनुसार अहिले गाँजर र चुकुन्दर, चाइनिज साग, प्याज, लसुन, बन्दा, काउलीलगायतका तरकारी उत्पादन गरिएको छ । यसको अलावा सहकारीले आफ्ना सदस्यलाई परिचालन गरेर धान उत्पादन गरेको छ । धानलाई चामल बनाएर अहिले बिक्री गरिरहेको छ । सहकारीले यस वर्ष दुई बिघा दश कट्ठा क्षेत्रफलमा धान रोपाइँ गरेको थियो ।
भरतपुर महानगरपालिका–१५ फूलबारीमा रहेको साढे दुई बिघा क्षेत्रफलमा सहकारीले दुई वर्ष अघिदेखि नै जैविक धान तथा तरकारी उत्पादन गर्दै आएको हो । यस वर्ष सहकारीले ७० क्विटल वार र अनदी धान उत्पादन गरेको थियो ।
जैविक कृषि उत्पादनका अभियान्ता चन्द्रमणि अधिकारी सहकारी संस्थाले नै जैविक कृषि उत्पादनमा लागेर उपभोक्तासम्म पु¥याउँदा उपभोक्तामा विश्वास र वजार प्रवर्धनमा सहयोग पुगेको बताउनुहुन्छ । “जैविक उत्पादन नै हो कि होइन भन्ने अविश्वास हुन्थ्यो भने अहिले विस्तारै उपभोक्तामा यसमा विश्वास जाग्दै गएको छ”, उहाँले भन्नुभयो, “सहकारीका सदस्यबाटै बजार प्रवद्र्धनमा समेत टेवा पुगेको छ ।”
बजार नपाएपछि बोटमा नै पाक्न थाले केरा
लकडाउनसँगै बजार नपाएपछि यहाँका कृषकको बारीमा बोटमा नै केरा पाक्न थालेका छन् । कोरोना भाइरसको सङ्क्रमण रोक्ने चैत ११ गतेदेखि देशभर लकडाउन गरिएको छ । चैत महिनाको मध्यबाट जिल्लाका विभिन्न ठाउँमा लगाइएको केरा बजार लैजान तयारी भएका थिए । बारीमा उत्पादन भएको सामग्री बजार लैजान सकिए पनि बिक्री गर्ने ठाउँ नभएपछि छिप्पिएका केरा बोटमानै पाक्न थालेका हुन् । चितवन जिल्ला केरा उत्पादक सङ्घका अध्यक्ष धननाथ महतोका अनुसार बजार बन्द भएपछि बारीमानै छिप्पिएका केरा पाक्न थालेका हुन् ।
उहाँले भन्नुभयो, “चैतको १५ गतेदेखि यहाँको बारीमा केरा तयारी भएको थियो । अहिले वैशाखको पहिलो हप्ता लाग्दासमेत बिक्री गर्न सकिएको छैन ।” नारायणगढको तरकारी तथा फलफूल थोक बजार बन्द छ । थोक बजार बन्द भएपछि सामान बिक्री गर्नको लागि समस्या भएको उहाँले जानकारी दिनुभयो । स्थानीय प्रशासनले केरा बोकेको गाडी चलाउन दिए पनि बिक्री गर्ने स्थानको अभावमा बारीमा तयारी अवस्थामा रहेको केरा लैजान नसकिएको उहाँले बताउनुभयो ।
मार्कण्डे केरा उत्पादक सहकारी सस्थाका अध्यक्ष ध्रुव ढङ्गानाले बिक्रीका लागि तयारी अवस्थामा केरा भए पनि बेच्न नसकीएको बताउनुभयो । उहाँले भन्नुभयो, “मजद्ूर लैजान पाइँदैन आफ्नो साधनमा जान पाइँदैन कसरी बिक्री गर्ने ।” सो सहकारीले २० बिघा क्षेत्रफलमा लगाएको केरा अब बारीमा नै कुहिएर जाने अवस्था आएको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “उपभोक्तामाझ लैजाने वातावरण भए लगानी डुब्ने थिएन ।”
पूर्वी चितवनका केरा उत्पादक किसान यज्ञ सुवेदीले केरा बेच्न सबै तयार हुँदा पनि बिक्री नहुँदा लाखौँको नोक्सान हुने बताउनुभयो । ढुवानी सहज नहुँदा र बाहिर निस्कन नपाउँदा बगैँचामा रहेका केरा कुन अवस्थामा छन् भन्नेसमेत थाहा नभएको उहाँको भनाइ छ । सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका सुबेदीले भन्नुभयो “अहिले पनि भारतबाट केरा भित्रिएको छ तर नेपाली केराले बजार पाउन सकेको छैन ।” उहाँले मात्र जिल्लामा ७० बिघामा केराखेती गर्दै आउनुभएको छ ।
अवस्था असहज भएकाले बैंकबाट ल्याएको ऋणको ब्याजको विषयमा सरकारले ध्यान दिनुपर्ने केरा उत्पादक किसानले माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले केरा, फलफूल, तरकारीको साना गाडीलाई बारीबाट बजारसम्म ल्याउन दिने व्यवस्था मिलाएको जानकारी दिनुभयो । धेरै सङ्ख्यामा मजदूर लैजाँदा, सबैले सवारीसाधन लैजाँदा रोगको सङ्क्रमण फैलन सक्ने भएकाले केही असहजता आएको उहाँले बताउनुभयो । भीड नगरी आफ्नो सामग्री बजार लैजान दिने व्यवस्था गरेको उहाँको भनाइ थियो ।
केरा उत्पादन सङ्घको तथ्याङ्कअनुसार जिल्लामा तीन हजार बिघाभन्दा बढीमा केराखेती हँुदै आएको छ । सङ्घमा मात्रै ७०० कृषक आबद्ध छन् । यहाँबाट गत वर्ष मात्रै रु एक अर्ब ५० करोड बराबरको केरा निकासी भएको संघले जानकारी दिएको छ । दुई वर्ष अघि हावाहुरी र असिनाले यहाँ लगाइएको केरा नष्ट गरेको थियो । त्यसको ऋण कृषकले तिर्न नपाउँदै थप नोक्सानी बेहोर्नुपरेको हो । यहाँको केराको मुख्य बजार राजधानी काठमाडौँसहित देशका प्रमुख शहर हुन् । (रासस)