News
प्रदेशस्तरको आइसोलेसन केन्द्रमा व्यवस्थापन तीव्र
– हेमन्त केसी
जाजरकोट, कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले रुकुमपश्चिम चौरजहारी सामुदायिक अस्पताललाई कोरोना आइसोलेसन केन्द्र बनाउने निर्णय गरेसँगै यहाँको व्यवस्थापन कार्यले तीव्रता पाएको छ ।
कर्णाली प्रदेश सरकारले सुर्खेतको प्रादेशिक अस्पताल र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको साथमा चौरजहारी अस्पताललाई कोरोना आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको थियो । यसका लागि रु ५० लाख बजेटसमेत छुट्याइसकेको छ । चौरजहारी सामुदायिक अस्पतालमा कोरोना भाइरस सङ्क्रमितलाई उपचार गर्ने गरी कोरोना अस्थायी अस्पताल बनाइएको छ । अन्यत्रका सामुदायिक अस्पतालले बिरामी भर्ना गर्न नै नमानिरहेको अवस्थामा यो अस्पताल भने कोरोना सङ्क्रमितको उपचार कसरी गर्न सकिन्छ भनेर निरन्तर लागिरहेको अस्पतालका प्रशासक दिलबहादुर गिरीले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमितको उपचारका लागि चार श्यया सघन उपचार कक्षसहितको २० आइसोलेसनकक्ष बनाइएको छ । आइसोलेसनकक्षको सङ्ख्या ५० पु¥याउन अस्पताल लागिपरेको गिरीले बताउनुभयो । कोरोना अस्थायी अस्पताल बनाउने कार्य जारी रहे पनि बिरामी भर्ना गरेर उपचार गर्न सकिने अवस्था बनिसकेको छ । कोरोना सङ्क्रमण भएर आएको सन्दर्भमा त्यसको उपचारका लागि अस्पतालले तयारी गरिसकेको छ । २४ जनासम्मलाई उपचार गर्नका लागि आवश्यक तयारी भइसकेको छ । बीस श्यया अस्पताल नजिकै रहेको शीतल माध्यामिक विद्यालयमा बनाइएको छ भने चार आइसोलेसनकक्ष अस्पतालभित्रै तयार छन् ।
आइसोलेसनकक्ष बनाउन उपकरण खरिद त्यसको व्यवस्थापन, स्वास्थ्यकर्मीको चाँजोपाँजो मिलाउनका लागि बजेट दिने निर्णय प्रदेश सरकारले गरेसँगै कामले तीव्रता पाएको हो । काम गर्दै जाँदा रु ५० लाख बजेट पनि अपुग हुने भएपछि बढाउनका लागि प्रदेश सरकार तयार भएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिनुभयो । प्रदेशकै दोस्रो अस्पतालमा आउने बिरामीको सङ्ख्याको आधारमा चौरजहारी अस्पताल कर्णाली प्रदेश दोस्रो भएको दाबी गरिएको छ ।
बिरामीको सङ्ख्याका हिसाबमा सुर्खेतको प्रादेशिक अस्पतालपछि चौरजहारी अस्पताल पर्छ । अस्पतालको ओपिडीमा दैनिक ४५० देखि ५०० बिरामी आउने गरेका छन् । पचास श्ययाको अस्पतालमा दैनिकजसो ६० देखि ७० बिरामीको उपचार गर्नुपर्ने अवस्था छ । अरु जिल्लाबाट पनि आउन सजिलो भएकाले बिरामीको सङ्ख्या बढी हुने गिरीले बताउनुभयो । गत आर्थिक वर्षमा अस्पतालमा ६५ हजार बढी ओपिडीमा बिरामी आएका थिए भने पाँच हजार ४०० जनाको अस्पताल भर्ना गरेर उपचार गरिएको थियो । यसमा दुई हजार १४४ शल्यक्रिया भएका थिए । चार हजार ७०४ आकस्मिक भर्ना भएका थिए भने ७७९ सुत्केरी भएका थिए । चालू आर्थिक वर्षका साउनदेखि फागुनसम्म ५५ हजार बढी ओपिडीमा बिरामी आएका छन् । कोरोनाको त्रास शुरु भएपछि ओपिडी बन्द गरिएको छ । अस्पताललमा २४सैँ घण्टा आकस्मिक सेवा, हप्ताको छ दिन ओपिडी सेवा, बाल स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पताल भर्ना हुने पाँच वर्षमुनिका बच्चाको निःशुल्क उपचार हुन्छ भने एक जना कुरुवाको खाने, बस्नेसम्मको व्यवस्था पनि अस्पतालले गर्दै आएको छ । अस्पताललमा हुने सामान्य र जटिल सुत्केरी सेवा निःशुल्क पाइन्छ ।
पेटको गानोगोला, हड्डीको शल्यक्रिया, एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाठेघरको शल्यक्रिया हुन्छ । अस्प्तालमा एक बालरोग विशेषज्ञसहित छ चिकित्सक छन् । ९८ स्वास्थ्यकर्मी कार्यरत छन् । त्यस्तै जाजरकोटको ५० श्ययाको स्वास्थ्य सेवा कार्यालयलाई थप मजबुत बनाउनुपर्ने स्थानीयवासीले बताएका छन् । नाम ५० श्यया भए पनि काम सोहीअनुसार बनाउनसमेत आग्रह गरेका छन् ।
आइसोलेसनका लागि नयाँ भवन बनाउँदै
आठबीसकोट नगरपालिकाले स्थापना गरेको विपद् कोषमा १०९ जनाले सहयोग गरेका छन् । सहयोग आउने क्रम जारी छ । आइसोलेसन वार्ड निर्माणमा समेत स्थानीयवासीको श्रमदान बढेको नगरप्रमुख गोरखबहादुर केसीले बताउनुभयो । कोरोना फैलन नदिन सरकार र जनता सँगसँगै लागिपरेका छौँ, केसीको भनाइ छ । दश दिनमा सक्ने गरी थालिएको कोरोना आइसोलेसन वार्ड निर्माणले गति लिएको छ ।
चौरजहारीमा २५ जनाले नगरपालिकाको विपद् कोषमा नगद तथा जिन्सी सहयोग गरेका छन् भने मुसिकोट, बाँफीकोट, सानीभेरी र त्रिवेणीमा पनि सहकार्य जारी छ । चौरजहारीमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी तथा स्थानीयवासीले विपद् कोषमा रकम जम्मा गर्ने क्रम बढेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताउनुभयो । (रासस)