News

किन रित्तिए काभ्रेका क्वारेन्टाइन?

किन रित्तिए काभ्रेका क्वारेन्टाइन?

– राजकुमार पराजुली

काभ्रेपलाञ्चोक, ३  कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि व्यवस्थित गरिएका सम्पूर्ण क्वारेन्टाइन हाल खाली भएका छन् । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा व्यवस्थित गरिएका क्वारेन्टाइन हप्तादेखि खाली अवस्थामा रहेका हुन् ।

यसअघि धुलिखेल नगरपालिकामा गत हप्ता १० तथा मण्डनदेउपुर नगरपालिकास्थित क्वारेन्टाइनमा विदेशबाट फर्किएका आठलाई राखिएकामा सातलाई १४ दिन तथा एकलाई २२ दिनको बसाइँपछि स्वास्थ्य जाँच गरी घर फर्काइएको थियो ।

जिल्लाका स्थानीय तहमा व्यवस्थित गरिएका सबै क्वारेन्टाइन हाल खाली अवस्थामा रहेका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो । उहाँका अनुसार विदेशबाट हालसम्म काभ्रेपलाञ्चोकमा घर फर्किएका मण्डनदेउपुर नपाका आठबाहेक सबैलाई एकान्तवास (होम क्वारेन्टाइन)मा राखिएको छ । घर फर्केका सबैको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी एकान्तवासमै बसाइएको हो ।

स्थानीय तहले हालसम्म २८८ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरेका छन् । जसमध्ये धुलिखेल नपामा ६५, बनेपा नपामा ५०, पनौती नपामा १०, नमोबुद्ध नपामा १८, पाँचखाल नपामा ११ श्यया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा चार र खानीखोला गाउँपालिकामा १५ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरिएको हो । धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शिरमेमोरियल अस्पतालमा पाँच श्ययाको आइसोलेसनकक्ष व्यवस्थित गरिएको छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।

कार्यालयका अनुसार माघ महिनायता ४५१ विदेशबाट घर फर्किएको तथ्याङ्क प्राप्त भएको छ । यसमध्ये चैत महिनामा मात्रै २५१ विदेशबाट घर फर्किएको पाइएको हो । घर फर्किएकाको स्थानीय तहको समन्वयमा ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) भइरहेको छ । विदेशबाट घर फर्किएकामध्ये हालसम्म १८९ को आरडिटी भएको छ ।

यसैबीच स्थानीय तहमा मङ्गलबारको परीक्षणका क्रममा दुई युवामा कोरोना भाइरसको शङ्का देखिएकाले धुलिखेल अस्पतालस्थित आइसोलेसन कक्षमा राखिएको झाले बताउनुभयो । उहाँले भन्नुभयो, “आज थप परीक्षण हुनेछ, त्यसपछिको रिपोर्टले उनीहरुको अवस्था थाहा हुनेछ ।” उहाँले शङ्का लाग्दैमा ‘कारोना पोजेटिभ’ भनेर प्रचार गर्न नहुने बताउनुभयो ।

कारोना भाइरसको शङ्कामा आइसोलेसनमा राखिएका बेथानचोक गाउँपालिका–५ का २८ वर्षीय युवा गत चैत ९ गते घर फर्किएका थिए । गत चैत ७ गते दुवईबाट घर फर्किएका मण्डनदेउपुरका अर्का २३ वर्षीय युवा नगरको होम क्वारेन्टाइनमा बसेर घर फर्किएका हुन् । जिल्लामा २७ देशबाट घर फर्किएको पाइएको हो भने भारतपछि दुवईबाट फर्कनेको सङ्ख्या अधिक रहेको देखिन्छ । (रासस)

विशेष